काठमाडौं- प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने नेपाल संवतको नयाँ वर्षलाई स्वागत गरिएको छ। आजदेखि नेपाल संवत् ११४२ सुरु भएको छ।
नेपाल संवतको नयाँ वर्ष सुरु भएको खुसीयालीमा आज राजधानीका विभिन्न स्थानमा र्याली एवम् सभाको आयोजना गरियो। नयाँ वर्षको स्वागत गर्न विशेषगरी नेवार समुदाय मौलिक भेषभूषामा सजिएर निस्किएका थिए। यस अवसरमा उपत्यकाका विभिन्न स्थानका साथै नेवार समुदायका बसोबास भएका सहरमा पनि मोटरसाइकल र्याली गरिएको छ।
यस संवतलाई हाल विशेषगरी नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले वि.सं. ९३७ (इ.सं. ८८०)मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुआत गराएका थिए। यसै आधारमा नेपाल संवत् मनाउन थालिएको विश्वास गरिन्छ। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धर बताउँछन्।
लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् शाहको शासनकालसम्म मौलिक संवतको रुपमा चलेको थियो। लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो। नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् भएको उनले सुनाए।
वि.सं. २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ।
गरिब जनताको ऋण मोचन गराइ सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।
वि.सं. २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए। कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज नयाँ बही खाताको सुरुआत गर्ने परम्परासमेत काठमाडौंमा अहिले पनि छ।
म्हः (आत्म) पूजाको तयारी
नेपाल संवतको नयाँ वर्षलाई स्वागत गरेपछि आजै नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ। कात्तिक शुक्ल प्रतिपदाका दिन आज बेलुकी नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्द छन्। पूजाको तयारी भएको जनाइएको छ।
मानिसको आत्म नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए।
आत्म सन्तुष्ट बनाइ खुसी राख्न सके देवी देवता पनि प्रसन्न भइ आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ। आत्मा नै सबैभन्दा महत्त्वपूर्ण हो भन्ने वैदिक मान्यतामा आधारित यो पर्व सबैले मनाउनुपर्ने भए पनि पछिल्लो समय नेवार समुदायले निरन्तरता दिएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।