ताप्लेजुङ- फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका योन्जेन शेर्पा (६५) याक–चौँरीगाईसँग रमाउन थालेको दशकौँ भयो। उनका लागि न दशैँ आउँछ, न त तिहार नै। आफ्नै समुदायले मनाउने अरु चाड पनि आउँदैन।
समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाइको मौवाटारमा शेर्पाको गोठ छ। छोराछोरीलाई अंशका रुपमा चौँरी बाँडेर पनि अहिले उनीसँग ३० वटा चौरी छन्। त्यसमध्ये १० वटा दुहुना छन्। बिहान उठ्ने बित्तिकै एक गिलास दूधको चिया खाएपछि झिसमिसेदेखि दुहुना चौँरी बटुलेर दूध दुहुँदा घाम लागिसक्छ।
तिनलाई चरन क्षेत्रमा पुर्याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ। बिहान दुहेको दूधलाई मोही, घ्यू र छुर्पी बनाउँदासम्ममा घाम क्षितिजपारि पुगिसक्छ। साँझ परेपछि छरिएका चौँरी र याकलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म जुन उदाइसक्छ। यसैगरी लेकाली बस्तीका समुदायको दिन बित्छ।
उनीहरूको मुख्य पुर्खौली पेसा चौँरी–याकपालन नै हो। वर्ष दिनमा आउने दशैँ तिहारजस्ता पर्वबारे आफूहरूलाई थाहै नहुने भएकाले चासो नभएको फक्ताङलुङ गाउँपालिकाका हेम्बे शेर्पाले बताए।
चौँरी याकसँग हिमाल डुल्दाडुल्दै कतिखेर दशैँ आउँछ कति खेर तिहार आउँछ थाहा नै नहुने गरेको अर्का स्थानीयबासी तेन्जिङ शेर्पाले बताए। मौवाटारमा चार, सिंजेको पोखोरी क्षेत्रमा तीन, र याङमा क्षेत्रमा नौवटा याकको घुम्ती गोठ छ। मिक्वाखोला गाउँपालिका(५ तोक्पेगोला क्षेत्रमा ३५ घुम्ती गोठ रहेको मिक्वाखोला गाउँपालिका–५ वडाध्यक्ष डण्डु लामाले बताए।
ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँ धेरै लेकाली बस्ती छ। हिमाली बस्तीमा बासोबास गर्ने समुदाय पशुपालनमै निर्भर हुने भएकाले दशैँको खासै महत्व नहुने फक्ताङलुङ–७ का चुङदाक शेर्पाले बताए।
शहर बजारमा दशैँको उत्साह छाए पनि हिमाली बस्तीमा दशैँ तिहारको न उत्साह न त उमङग नै छ। दैनिक चौँरी याक चराउँदैमा उनीहरूको दिन बित्ने गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।