पलाँस कुन महिनामा फुल्छ, त्यो चाहिँ मैले बिर्सिएँ। घरअगाडिको पलाँसको रुख ढलेको पचास वर्ष नाघिसक्यो। त्यस पलाँसको रुखको छायामुनिको मेरो स्वामित्वको भूमि गुमेको पनि तीस वर्ष नाघ्यो। अनि म कसरी सम्झूँ पलाँस फुल्ने सिजन कुन हो?
तथापि, त्यो पलाँसको निख्खर रातो फूलको रङका छापहरू भने अझै मेरो मस्तिष्कमा ताजा छन्। जसरी पलाँसको सुवासविहीन रातो रङले मलाई मोहित पारेको थियो, त्यसैगरी स्कुल पढ्दै गरेको अल्लारे वयमा म विचारको रातो र मानिसको जीवनलाई सुगन्धित बनाउने अर्मूत आस्थाको गोरेटोमा हिँड्न थालेको थिएँ।
त्यति बेलाको मेरो वयले रङ थाहा पाउँथ्यो, गन्ध बुझ्दैनथ्यो। रङको सौन्दर्यमा आफूलाई अभिभूत गराउँदै उत्सर्गको भाव उर्लन्थ्यो र सर्वत्र रातोको निरपेक्ष यात्रामा दगुर्न लालायित हुन्थ्यो। जहिल्यै म झोला भिरेर स्कुल लाग्थेँ, मेरा आँखा एकछिन भए पनि पलाँसका राता फूलहरूको सौन्दर्यपान गर्थे र बाटोतिर सोझिन्थे। बारीमा झोला बोकेर आउँदै गरेका सहपाठी साथीहरूको हुलमा मिसिएर म फूर्तीको साथ भन्ने गर्थेँ– ‘हाम्रो घरको पलाँसको रुख कति राम्रो छ। तिमेरु पनि आफ्नो घरमा रोप, पलाँस फलाओ।’
यो रातो रङले मनमा पारेको छापको महिमा गान लामो छ। त्यति बेलाको चितवनको कष्टपूर्ण जीवनको चित्र छ। सामाजिक साँस्कृतिक चेतनाले उब्जाएको द्धन्द्ध र विभेदका तिखा सुइराहरु छन्। गाउँमा साहू महाजनले निमुखा गरिबहरुमाथि लगाएको धाने ब्याजको शोषणका आला छापहरु छन्। यस्तै निर्मम र दारुण सामाजिक दुरावस्थाका विरुद्ध आमुल परिवर्तनको भावना मुखर गर्ने विचारको अङ्कुरण पनि त्यतिबेला नै भएको थियो, जतिबेला मेरो घरअगाडि राताम्य भएर पलाँस फुल्थ्यो। म रङ र विचार दुवैले रोमाञ्चित हुन्थेँ।
यी स्मृतिहरूले मलाई ती विचारका ‘स्कुलिङकाल’तिर फर्काउँछ। वर्तमानको चरम विचारहीनतामा आफ्नो चेतनतन्तु डुबाउन बाध्य पार्छ र भविष्यको अँध्यारो ओडारको दुस्कल्पनामा पुर्याउँछ। माध्यमिक विद्यालयको विद्यार्थी सङ्गठनको सभापति भएपछिको आम परिवर्तन अथवा अग्रगमनको लागि उम्लिएको उत्सर्गको ती तरेलीहरु बिस्तारै पानीको फोका झैँ फुट्दै गएको घटनाक्रमले मनलाई अत्यन्त उद्धेलित पार्छ।
थुप्रै घटनाक्रमहरु छन्। जीवनका रङमा परिवर्तन ल्याउने तत्वहरु मिसिएका छन्। वातावरण र विचारलाई समय सापेक्ष परिस्कृत पार्ने चिन्तनहरुको विकाश भएका छन्। जीवनको रेखामा आइपरेका अनेक वितण्डाहरुको स्मृति पनि ताजा भएर आउन थालेका छन्। यतिबेला कुन चेतना र कस्तो समयको प्रतिक्षाका लागि आफ्ना नीजि सुखहरु जीवनलाई मटमैलो अँध्यारो दिशातिर धकलियो कुन्नी आफैँलाई थाहा छैन। जतिबेला देशमा क्रुर र नागरिक स्वतन्त्रता विरोधी जनतालाई रैती सम्झने सत्ता सिहांसन थियो। त्यतिबेलाको उखरमौलो शासनमा घरअगाडि राताम्य पलाँस फुलेझैँ मनभरि वैचारिक आवेग र उग्रताको आकाशबेलीहरु फुलेका थिए।
शनैःशनैः जीवनका घुम्तीहरु छिचोलिँदै थिए। राजनीतिक रङमञ्च र साहित्यिक व्यसन सँगसँगै पत्रकारिताको सानोतिनो दोकानअगाडि जीवनले सुस्तरी सुस्तरी सास फेर्न थाल्यो। भरतपुरमा एउटा ‘आरन’ थियो। जहाँ हामी केही उत्साहित युवाहरु थियौँ। कविता, गीत, कथा निबन्ध आदि भावनाका औजारहरु अर्चाप्ने गथ्र्याैँ। राजधानीतिरबाट बेलाबखत ठूला कहालिएका लेखक कविहरु पुग्थे। हामी धनुष्टङकार भएर सम्मान पोख्थ्यौँ। खुवाउँथ्यौ, पियाउँथ्यौँ र मीठा वचनका कोसेली बोकाएर फिर्ता पठाउँथ्यौँ।
राष्ट्रव्यापी कवि गोष्ठीदेखि स्थानीस्तरका अनेकौँ प्रतियोगिता गरेर ‘लङ्काधावन’ गरेको आत्मरतिमा मुग्ध हुन्थ्यौँ। कहिलेकाहीँ राजधानी आएका बखत आफूले सप्रेम– सादर खुवाइपियाई गरेका परिचित कविहरुलाई भेटघाट गर्न कठोर प्रयत्न गर्थ्यौं, तर आशा र निराशाका भञ्ज्याङका तिक्तताको छायाँ पारेर फर्कन्थ्यौँ। यही पीडामा साहित्य सेवाको अल्पचेत वय उफ्रेर राजधानीतिर छिर्यो र पत्रकारिताको सौर्यमा पनि पलाँसझैँ फुल्ने फूलहरुको बगैँचा देख्यो।
अहिले मलाई लाग्छ– के जीवनको कुनै नियति हुन्छ? के यस्तै नियतिले नै हो मानिसलाई सुवासहीन सौन्दर्यपानले मात्र तृप्तीबोध गर्न बाध्य पारिरहन्छ? पत्रकारितामा बामे सर्दा म बालमुकुन्ददेव र गोर्कणदेव पाण्डेको ‘संरक्षक’ दैनिकको दैलोमा पुगेँ। बिहान आठ बजेदेखि चल्ने त्यो समाचार उत्पादनको कारखाना राति १० बजे बन्द हुन्थ्यो। म स्तम्भकारको रुपमा कार्यरत कवि इश्वर बल्लभसँगै सामान्य नशाको धङधङी बोकेर कुपण्डोलको गल्ली छिर्थेँ।
‘संरक्षक’सँगको दिनचर्या यसरी नै चलिरहेको थियो।
एक दिन त्रिविवि जयन्ती आयो। जतिबेला त्रिविविका प्राध्यापकहरु हडतालमा थिए। पठनपाठन बन्द थियो। यस्तो विषम अवस्थामा पनि त्रिविवि प्रशासनले जयन्ती मनाउने भयो– कुलपति श्री ५ वीरेन्द्रको उपस्थितिमा। तर, प्राध्यापकहरु आन्दोलनरत थिए र उपस्थित नहुने फर्मान जारी गरे। प्राध्यापकहरुले मातातीर्थतिर अलग्गै जम्मा भएर मनमोहन अधिकारीको प्रमुख आतिथ्यमा त्रिविवि जयन्ती मनाए। ठूलो प्रहरी घेरामा मनमोहनले भने– यो राजसंस्थाको सम्मानमा ठूलो चुनौती हो। यो चुनौती यी प्राध्यापक बुद्धिजीवीहरुले होइन स्वयम् पञ्चायती सरकारले दिइरहेको छ। राजसंस्थालाई अपमानित गर्ने काम स्वयमं पञ्चहरुले गरिरहेका छन्। यसको जिम्मेवार पञ्चायती सरकार नै हो।
म रिपोर्टिङमा थिएँ। कार्यक्रममा प्रशासनले कुनै धरपकड गरेन। तर, जब मैले त्यो साँझ समाचार लेखेँ र भोलिपल्ट बाइलाइन प्रकाशित भयो, तब सुरु भयो धरपकड। प्रेसमा छापा मारियो। सम्पादक गिरफ्तारीमा परे। पत्रिका प्रतिबन्धित भयो। म डेरा आइनसकेकोले गिरफ्तारीमा परिनँ।
वर्तमाान अवस्थामा मुलुकको गतिमा प्रकट भएका असंगतिहरुले मनमोहन अधिकारीले भनेजस्तै लोकतान्त्रिक गणतन्त्र, अग्रगमन र समाजवादको दार्शनिक गाम्भीर्यतालाई क्षत–विक्षत गर्ने काम कोबाट भएको छ? यो दुरवस्थाको जिम्मेवार को हो?
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनको दिशामा यो एउटा तपसिलको घटना हो। तर, यसको सन्देश र सुवासको प्रभाव २०४६ सालको जनआन्दोलन तथा २०६२–६३ को गणतन्त्र स्थापनाको भावभूमि हो। त्यस किसिमका अनेक आन्दोलनको जग र सौन्दर्यको पर्यावरणमा अहिले देखिएको सरमहिन प्रवृत्तिहरुले नेपालीलाई नैराश्यको भूमरीमा घुमाइरहेको छ। वर्तमाान अवस्थामा मुलुकको गतिमा प्रकट भएका असंगतिहरुले मनमोहन अधिकारीले भनेजस्तै लोकतान्त्रिक गणतन्त्र, अग्रगमन र समाजवादको दार्शनिक गाम्भीर्यतालाई क्षत–विक्षत गर्ने काम कोबाट भएको छ? यो दुरवस्थाको जिम्मेवार को हो? अनेक प्रकारका विभेदहरुको पर्खाल खडा गरेर सत्ता स्वेच्छाचारी तदर्थवादी (पञ्चायती शैली) कृयाको अभियन्ता को हुन्? वर्तमान पद्धति र संविधानको सौन्दर्य के साँच्चै पलाँस कै फूल हो?
म यतिबेला विगतको स्मृति र वर्तमानको आला घाउहरुको दुःसाध्य घर्षणमा हराइरहेको छु। सर्वत्र राता फूलहरु सौन्दर्यले अभिभूत छु र सुवासको खोजीमा घ्राण क्षमता तिखारेर भड्किरहेको छु। मेरो घरअगाडिको पलाँसको रुख त ढल्यो, स्मृतिमा आइरहने रातो रङको सौन्दर्यमा पनि किन अनेक प्रश्नहरुले गिज्याइरहेका छन्? के साँच्चै नै मैले भोगेको हिजोको समय र आजको समयको खलनायक एउटै थिए? हिजोकै जरो किलोमा बाँधिएका नक्कली अवतारहरु नै पलाँसको फूल सिउरिएर उदित भएका हुन्। यस्ता खाले विभ्रमहरुले तर्साइरहेको समयमा मलाई पचास वर्षअगाडिको पलाँसको रुखको किन याद आइरहेछ?
आजकाल मेरो मनमा अर्को विष्मयकारी दुर्घटनाको भयले ऐठन गराउन थालेको छ। पलाँसको रुखको फेद समातेर बसेको भूमि मेरो स्वामित्वबाट गुम्यो, यसमा मलाई किञ्चित पछुतो छैन। म एक सार्वभौम भनिएको माटोको भूमिमा निर्बाध उभिएको छु। स्वतन्त्र रमण गरेको छु। ऐतिहासिक गौरवगाथा गाएर बाँचिरहेको छु। तर, यस शताब्दीको चौथाई अवधीमा आएर म खतरनाक दुस्वप्नले भयभित हुँदैछु। विभिन्न वैदेशिक चलखेल र पलाँसका सुवासहीन फूलजस्ता नायकहरुको खलाभिनयले कतै यो माटोको सार्वभौम स्वायत्त नै गुम्ने होइन? अथवा हामीले उपभोग गरिरहेको स्वतन्त्रताको धुकधुकी हाम्रो आफ्नो स्वास प्रस्वासबाट चलेको छैन? के हामी दिनप्रतिदिन पराधीनताको माखेसाङ्लोमा बेरिँदै गएका त छैनौँ?
हामीले हाम्रो पहिचान र स्वत्वको प्रणाली खोजेको एक शताब्दी पुग्न अब धेरै वर्ष बाँकी छैन। यति लामो समयको कालखण्डमा हामीले जेजति परिर्वतनको जङ्घारहरु तर्यौँ सबैमा आयातीत विचारका वाहकहरु कै मुख्तियारीमा रहेछौँ भन्ने सत्य घटना उत्घाटित भइसकेको छ। हाम्रो मौलिक आन्दोलनको प्रवाहको उडान पुनः आवश्यक हुन थालेको छ। झण्डै सात दशक अघिदेखि भड्किएको हाम्रो रङ्गीन सपना अब त यर्थाथमा पलाँसको फूल झैँ लाग्न थाल्यो। अनि म कहाँबाट पलाँसको बास्ना खोजूँ र यस्तो रातो आवरणको सौन्दर्यबाट समग्र जनजीवनमा सौन्दर्यको गुञ्जयास पाऊँ?
पलाँसको फूल जुनसुकै महिनामा फुलोस्, तर म अर्थपूर्ण सुगन्धमा जीवनको हिस्सा बन्ने फूलहरु फुलेको हेर्न चाहान्छु। आँखाको पर्दामा टल्कने राता पलाँसका फूलहरुको सुगन्धहीन पर्यावरणबाट मुक्ति चाहन्छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।