काठमाडौं- पछिल्लो समय नेपालको पुँजीबजार लगातार ओरालो लागिरहेको छ। गत साताको पहिलो दिन (आइतबार) उच्च अंकले वृद्धि भएको नेप्से दोस्रो दिन (सोमबार) झिनो अंकले बढेको थियो।
मंगलबारबाट भने नेप्से घट्न थालेको थियो। उक्त दिन नेप्से परिसूचक १८.५४ विन्दुले घटेर २९२९.२८ विन्दुमा ओर्लिएको थियो। बुधबार ४०.२६ अंकले गिरावट आएको नेप्से साताको अन्तिम दिन बिहीबार ७६.६५ विन्दुले ओरालो लागेर २८१२.३८ मा ओर्लियो।
यो साता पनि नेप्सेमा पहिरो जाने क्रम थामिएन। साताको पहिलो कारोबार दिन आज (सोमबार) नै नेप्से परिसूचक उच्च अंकले घटेको हो। आज ११४.०२ अंकले घटेसँगै नेप्से २६९८.२५ विन्दुमा ओर्लिएको छ। पछिल्लो समय नेप्से परिसूचकसँगै सेयर कारोबारसमेत घटेको छ।
अहिले सेयरबजार घट्नुको एउटा कारण बैंकहरुमा देखिएको तरलताको समस्या भएको जानकारहरु बताउँछन्। अहिले बैंकहरुले तरलता अभाव भोगिरहेका छन्। यससँगै कर्जा प्रवाहमा कडाइ गरिएको छ। यही कारण सेयरबजारमा लगानीकर्ताको संख्या कम देखिएको भनाइ छ।
तरलता अभावका कारण असोज १ गतेबाट बैंकहरुले ब्यजदरसमेत बढाएका छन्। अहिले बैंकहरुबीच उच्च ब्याजदरमा निक्षेप तान्ने होड चलेको छ।
सुरुमा सेयरबजार घट्नुमा नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिलाई दोष दिइएको थियो। राष्ट्र बैंकले मौद्रिक नीतिमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट एक व्यक्ति वा संस्थालाई सेयर धितो राखेर एक वर्षभित्र १२ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गरेको थियो। एक बैंक तथा वित्तीय संस्थाले एक व्यक्ति वा संस्थालाई यस्तो कर्जा एक वर्षमा चार करोड रुपैयाँ मात्र दिन पाउने व्यवस्था गरिएको छ। यही कारण ठूला लगानीकर्ताहरु समस्यामा परेकाले सेयरबजार नकारात्मक बन्न पुगेको लगानीकर्ताहरुको भनाइ थियो।
लगानीकर्ताहरूले मौद्रिक नीतिको उक्त व्यवस्था खारेज गर्नुपर्ने लगायत माग राखेर राष्ट्र बैंकसमक्ष ज्ञापनपत्र बुझाउनेदेखि विरोध प्रदर्शन गर्नसम्म भ्याए। उनीहरूले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामासमेत मागे। अर्थमन्त्री जनार्दन शर्मालेसमेत यस विषयमा चासो दिँदै राष्ट्र बैंकका गभर्नर अधिकारीलाई टेलिफोन गरेर सेयरबजारमा देखिएको समस्या तत्काल समाधान गर्न आग्रह गरेका थिए। अर्थमन्त्रीको उक्त ‘निर्देशनात्मक’ आग्रहपछि केही दिन नेप्सेमा उछाल आएको थियो। तर, गभर्नर अधिकारीले तत्काल मौद्रिक नीति परिवर्तन गर्न नसकिने स्पष्ट पारेपछि नेप्से भोलिपल्टदेखि नै घट्न सुरु गरेको थियो। त्यसपछिका सेयरबजार घटबढ हुने क्रम चलिरह्यो। गत साताबाट भने लगातार ओरालो लागिरहेको छ।
यता सेयर विश्लेषकहरु भने अहिले सेयरबजार घट्नुलाई स्वाभाविक बताउँछन्। उनीहरुका अनुसार सेयरबजार बढ्नु र घट्नु स्वाभाविक प्रक्रिया हो। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् गरिएको कडाइलाई मात्रै सेयरबजार घट्नुको मुख्य कारण मान्न नहुने उनीहरुको भनाइ छ। २७ सयभन्दा मुनि ओर्लिएको नेप्सेमा अब भने सुधार हुँदै जाने आकलन विश्लेषकहरुले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।