फाइल तस्बिर काठमाडौं- सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकाका ६ स्थानसहित देशका ३२ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ। आजदेखि सञ्चालन गरिएको सो पसल आगामी कात्तिक २४ गतेसम्म जारी रहने कम्पनीले जनाएको छ।
यसअघि नै सञ्चालनमा रहेका बिक्री काउन्टरमा नै ती पसल सञ्चालन गरिएको जनाइएको छ। उपभोक्ताले नून प्रतिकिला १८ रुपैयाँ, चिनी प्रतिकिलो ७९ रुपैयाँमा र अन्य खाद्यान्न प्रतिकिलो पाँचदेखि १० रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ।
कम्पनीले उपत्यकाभित्र कालीमाटीमा दुई स्थान, कोटेश्वर, सतुङ्गल, जावलाखेल, भक्तपुरका बिक्री कक्षसँगै दैनिक तीन मोबाइल भ्यानबाट घुम्ती सेवासहित देशभर करिब ३२ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको जनाएको छ। पसल बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ।
सरकारले यो वर्ष चाडर्वमा उपभोक्तालाई सहुलियत दिनका लागि तीन करोड रुपैयाँ छुट्याएको छ। दसैं, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई सुपथ पसल सञ्चालन गरेर सहुलियत दिनका लागि तीन करोड २५ लाख रुपैयाँ छुट्याएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले खाद्य कम्पनीका लागि एक करोड ७५ लाख रुपैयाँ र कर्पोरेसनका लागि डेढ करोड रुपैयाँ रकम छुट्याइएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।