काठमाडौं– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको सरकारी ‘क्वार्टर’ पुल्चोकमा जति नेता–कार्यकर्ताको भीड हुन्छ। त्योभन्दा ठूलो लाम बालुवाटारस्थित सभामुख ओनसरी घर्तीको निवासमा लाग्छ। सभामुख घर्तीलाई भेट्न त्यहाँ यति ठूलो लाम लागेकै होइन। घर्तीका श्रीमान् तथा माओवादीभित्रका एक घघडान ‘किङ मेकर’ वर्षमान पुनको दर्शन पाउन बालुवाटारमा यति ठूलो लाम लागेको हो।
सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको सम्बन्ध निकै सुमधुर छ यतिबेला। सम्बन्धलाई प्रगाढ बनाउन कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्ना विस्वास पात्रलाई जिम्मेवारी दिएका छन्। र, त्यही जिम्मेवारी अन्तर्गत कांग्रेसलाई ‘कुल’ बनाउन माओवादी केन्द्रबाट वर्षमान पुन खटिरहेका छन्।
एकातिर नेता–कार्यकर्ता र सरकारी कर्मचारीबाट घेरिनु, अर्कातिर कांग्रेससँगको सत्ता सहकार्य। अहिले त मिति घोषणा गरिसकिएको केन्द्र र प्रदेशको निर्वाचनमा २०–२० प्रतिशत सिटमा भागवण्डा गरेर अघि बढ्ने तयारीमा जुट्नुको परिदृश्यले पुन पार्टीभित्र कसरी हावी भइरहेका छन् भन्ने खुलाउँछ। उनको व्यस्तता नियाल्दा यस्तो लाग्छ, पार्टीका तर्फबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरा र अन्य मन्त्रीहरु भन्दा पुन निकै ठूलो चटारोमा छन्। पुन निकट एक स्थायी समिति सदस्य भन्छन्, ‘अहिले पार्टीमा प्रचण्डलाई पुनले जति सहयोग अरु कुनै पनि नेताले गरेका छैनन्।’ पुन आफैं स्वीकार्छन्, ‘पार्टी कामको व्यस्तताले कसैलाई पनि निर्धारित समयमै भेट्न र अन्य काम गर्न पाइरहेको छुइनँ।’
नेता पुन पार्टीमा मात्र होइन, सरकारमा पनि उसैगरी हावी भइरहेका छन्, त्यही कारण महरासँग उनको सम्बन्ध झन्–झन् टक्करिलो बन्दै गइरहेको छ। कुनै समय महरा शिक्षक र पुन उनका विद्यार्थी थिए। रोल्पाको लिवाङस्थित विद्यालयमा महराले पुनलाई ८ देखि १० कक्षासम्म गणित र विज्ञान पढाएका थिए। उपराष्ट्रपति नन्दबहादुर पुन, माओवादी नेताहरु नेत्रविक्रम चन्द, कुलबहादुर केसी, जयपुरी घर्ती, सन्तोष बुढा मगर, झक्कु सुवेदी पनि महराका विद्यार्थी हुन्।
त्यसबेला आफ्ना विद्यार्थीलाई मशालमा आवद्ध हुन महराले राम्रै उत्प्रेरकको भूमिका निर्वाह गरेका थिए। महराको स्वभाव, साधारणपनले काफी हदसम्म प्रभाव पारेकाले आफू तत्कालीन नेकपा मशाल निकट विद्यार्थी संगठनमा आबद्ध हुन पुगेको पुन स्वयं स्वीकार गर्छन्। तर, पुनलाई मशालमा आवद्ध गराउने महराले सायदै सोचेका थिए, कुनै समय उनैले आफूलाई यति कडा टक्कर देलान्।
माओवादी केन्द्रका एक सचिवालय सदस्यका शब्दमा यतिबेला महरा र पुनबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। त्यो ‘अध्यक्ष प्रचण्डको विश्वासपात्र को हुने?’ भन्ने सवालमा मात्र होइन, उत्तराधिकारी को हुने, गृह जिल्ला रोल्पामा को बढी लोकप्रिय र स्थापित हुने, नेता–कार्यकर्तालाई कसले बढी आफ्नो पछाडि लगाउने जस्ता थुप्रै विषयमा। पुन निकट माओवादी केन्द्रका एक पोलिटब्युरो सदस्य भन्छन्, ‘नेताहरुलाई पार्टीको जिम्मेवारी दिने, मन्त्रालयको बाँडफाँट गर्ने जस्ता अवस्थामा महरा र पुनबीच ‘टसल रिफ्लेक्ट’ हुने गरेको छ।’ पुन चाहिँ के भन्छन् भने उनको प्रतिस्पर्धा महरासँग नभएर दोस्रो पुस्ताले जिम्मेवारी पाउनुपर्छ भन्ने सवालसँग हो।
महरा र पुनबीचको प्रतिस्पर्धाको नाभी छाम्न एक पटक २७ असोज ०७२ मा फर्कनुपर्छ । तत्कालीन एकीकृत माओवादीभित्र केपी ओली नेतृत्वको सरकारमा जाने मन्त्रीहरुको सूची छनोट गर्न तानातान परिरहेको थियो।
संयोग के छ भने, महरा र पुन दुवै रोल्पाको एउटै निर्वाचन क्षेत्रका हुन्। उनीहरुबीच त्यो निर्वाचन क्षेत्रमा अब को उम्मेदवार हुने भन्ने लडाइँ नहुने कुरै भएन। ‘त्यही कारण महरा पुनलाई र पुन महरालाई पछि धकेल्ने खेलमा सहभागी भइरहेका छन्,’ प्रचण्डका विश्वासपात्र एक नेताको कथन छ, ‘आफू उपप्रधान र पराराष्ट्र मन्त्री भए पनि सरकारमा पुन बढी हाबी भए भन्ने ठम्याइ छ महराको।’
अवस्था कस्तोसम्म भने गृहमन्त्री जनार्दन शर्मासँग महराको बोलचाल नै छैन । शर्मा लगायत मन्त्रीलाई पुनले चलायो/खटायो भन्ने व्यक्त/अव्यक्त पीडामा छन् महरा । केहीअघि नेपाल भ्रमणमा आएका चिनियाँ उपप्रधानमन्त्री सहितको भोजमा महराले गृहमन्त्री शर्मालाई निम्तो नै दिएनन्।
महरा र पुनबीचको प्रतिस्पर्धाको नाभी छाम्न एक पटक २७ असोज ०७२ मा फर्कनुपर्छ । तत्कालीन एकीकृत माओवादीभित्र केपी ओली नेतृत्वको सरकारमा जाने मन्त्रीहरुको सूची छनोट गर्न तानातान परिरहेको थियो।
प्रचण्ड महरालाई उपप्रधान र गृहमन्त्री बनाउने सोचमा थिए। तर, उनको सोचमा ठूलै दबाव ठोक्कियो। त्यो कसरी भने, महरालाई गृहमन्त्री बन्नबाट रोक्न पूर्व लडाकु कमान्डरहरु राजधानीको ठमेलमा भेला भएर ठूलै ‘गेमप्लान’ रचे । जस अनुसार महरालाई कुनै पनि हालतमा गृहमन्त्री नबनाउन प्रचण्ड निवास लाजिम्पाटमा लडाकुहरुको ‘डेलिगेसन’ नै गयो । यसको देखिने मोर्चा जर्नादन शर्माले सम्हालेका थिए । तर, ‘मास्टर प्लान’ भने पुनले बनाएको डेलिगेसनमा सहभागी एक पूर्वलडाकु कमान्डर बताउँछन् । भन्छन्, ‘त्यो पूरै योजना पुनले नै बनाएका हुन्।’
पूर्वलडाकु कमान्डरको दबावपछि प्रचण्डले गृहमन्त्रीमा महरालाई पठाउने निर्णय पुनर्विचार गर्ने आश्वासन दिए। नभन्दै उनले शक्तिबहादुर बस्नेतलाई गृहमन्त्री बनाए। महरालाई रोक्न लडाकु कमान्डरहरुले उनीमाथि लगाएका आरोप थिए, महासचिव पदमा रहे पनि संगठनमा ध्यान नदिएको, अघिल्लो पटक गृहमन्त्री हुँदा कृष्ण सेन हत्याका आरोपी प्रहरी अधिकृतको बढुवा गरेको, पार्टी विभाजन हुनु पूर्व वैद्यलाई सहयोग गरेको, नेत्रविक्रम चन्दसँग निरन्तर हिमचिम रहेको आदि।
खासमा महरालाई सभामुखमा थन्क्याउन र टोपबहादुर रायमाझीलाई उपप्रधानमन्त्री सहित ओली सरकारमा पार्टीको नेतृत्व गर्नेगरी पठाउन चाहन्थे पुन । यसो हुँदा रायमाझीको सहयोगमा पार्टी महासचिव बन्ने उनको चाहनाले मूर्तरुप लिन्थ्यो । संविधानसभा चुनाव हारेका उनी सरकारमा जान सक्दैनथे, त्यसैले पार्टी महासचिव भई संगठन हाक्ने सोचमा पुगेका थिए । पुनको रणनीति बुझेका महरा सभामुख हुन तयार भएनन् । पुनको योजना तुहियो । पुन पनि के कम ! उनले पनि महरालाई सरकारमा जानबाट रोके, रायमाझीको नेतृत्व स्थापित गरे। सभामुखमा श्रीमती घर्तीलाई विराजमान गराए।
महरालाई छेक्न पुनले यो एउटा योजना मात्र बनाएका होइनन्। ०६९ माघको हेटौंडा महाधिवेशनलाई नै हेरौं। महाधिवेशनमा प्रचण्डले ‘फिल्ड’बाटै महरालाई महासचिव बनाउन चाहेका थिए। तर, पुनले आफू महासचिव हुनुपर्ने जिकिर छाडेनन्। महरासँग निर्वाचन नै लड्न तयार रहेको चुनौती दिए। ‘यसपछि माओवादीले महाधिवेशनबाट पदाधिकारी छनोट गर्न त सकेन नै प्रचण्डले बनाउन चाहेको पोर्टफोलियो पनि उलटपुलट भयो। र, पुनलाई रोक्नका लागि पोष्टबहादुर बोगटीलाई महासचिव बनाइयो,’ स्रोत भन्छ।
यही नियति वैशाख ०७१ मा विराटनगर सम्मेलनमा पनि दोहोरियो । त्यहाँ पनि पुनले महासचिवको दाबी छाडेनन् । यसपछि काठमाडौं फर्किएर माओवादीले निर्वाचन गर्योप । काठमाडौंमा समेत पुन महासचिव त्याग्न तयार भएनन्। अन्तिम समयसम्म महरास“ग चुनावी प्रतिस्पर्धा गर्ने अडान लिए । प्रचण्डले लामै प्रयास गरेर पुनलाई सचिवमा मनाए। त्यस यता पनि पुनले महरालाई निरन्तर टक्कर दिइरहेका छन्।
पछिल्लो पटक पनि पुन महरालाई गृहमन्त्री बन्नबाट रोक्न सफल भए । आफ्ना विश्वासपात्र शर्मालाई सरकारमा दोहोर्यामए, ऊर्जाबाट सारेर गृहमन्त्री बनाए । तर, उनी देउवा सरकारमा पार्टीको तर्फबाट महराको नेतृत्व रोक्न भने सफल भएनन्। महरा उपप्रधान र पराष्ट्रमन्त्री भए। एक त पुन सांसद थिएनन् । दोस्रो, महरालाई यसपटक पनि रोक्ने गोटी चाल्दा आफैंलाई प्रत्युत्पादक हुने देखे उनले।
‘त्यसैले महरालाई उपप्रधान र परराष्ट्र मन्त्री बन्न दिएर सरकारको क्षेत्राधिकारभित्र आफू हावी हुने अस्त्र प्रयोग गरिरहेका छन् पुन,’ यी दुई नेताको अन्तरद्वन्द्वबारे जानकार माओवादी केन्द्रका एक पोलिटब्युरो सदस्य भन्छन्, ‘यो यदुवंशीय लडाइँमा को पहिलो हुने हुन् अहिल्यै भन्न गाह्रो छ।’
('महराको जवाफी रणनीति' आइतबार भाग–२ मा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।