प्रतिकात्मक तस्वीर काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले आज अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी नेपालको ऊर्जा क्षेत्रसँग जोडिएका समस्या समाधानका लागि आग्रह गरेको छ ।
सरकारले अगाडि सारेको १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य पूरा गर्नका लागि आयोजना निर्माण भएसम्म पूरै १० वर्षसहित थप ५ वर्ष गरी १५ वर्ष आयकर छुट दिन इपानले माग गरेको छ।
कोभिड–१९ का कारण सर्वेक्षण अनुमति पाएर पनि काम गर्न नपाएका प्रवर्द्धकलाई सर्वेक्षण अनुमतिपत्रको ७५ प्रतिशत छुट दिने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्णय गरिसकेको छ।
ऊर्जाले निर्णय गरेको भए पनि अर्थमन्त्रालयमा सो विषय रोकिएको भन्दै ऊर्जा उद्यमीले मन्त्री शर्माको ध्यानकर्षण गराएको इपानका उपाध्यक्ष मोहन डाँगीले जानकारी दिए।
कूल १५ हजार मेगावाटसम्मको जलविद्युत् आयोजना निर्माणका लागि लगानीको स्रोत नखोज्ने विषयमा समेत अर्थमन्त्रीले सकारात्मक रुपमा लिएको इपानले जनाएको छ तर, उद्यमीले माग गर्दै आएको प्रतिमेगावाट रु ५० लाख मूल्यअभिवृद्धिकर छुटका विषयमा भने सरकारले तत्काल केही गर्न नसक्ने अर्थमन्त्रीको भनाइ थियो।
सो अवसरमा अर्थमन्त्री शर्माले ऊर्जा उद्यमीले उठाएका जायज माग सम्बोधन गर्न सरकार सदैव तत्पर रहेको बताए। ऊर्जा क्षेत्रको विकास र विस्तार बिना अर्थतन्त्रले गति लिन नसक्ने भन्दै मन्त्री शर्माले सक्ने सम्मका समस्या समाधानका लागि मन्त्रालयका तर्फबाट पहल हुने र गर्ने विश्वास दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।