आफ्नो पार्टीको नाममा ‘समाजवादी’ शब्द राख्ने दलको संख्या नौ पुगेको छ। राष्ट्रिय दलको मान्यता प्राप्त ६ मध्ये तीन वटाको नाममा समाजवादी शब्द छ। गत ९ भदौमा निर्वाचन आयोगबाट प्रमाण-पत्र पाएका दुवै दलको नाममा समाजवादी शब्द छ, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी। आलोचकहरुले नेपालका दलहरुको व्यवहारमा खासै फरक नरहेको भन्ने गरे पनि नाममा समाजवादप्रतिको मोह भने बढ्दै गएको देखिन्छ। यस्तो किन भइरहेका छ त? विश्लेषक श्याम श्रेष्ठसँग नेपाल लाइभका लागि डिबी खड्काले गरेको कुराकानीः
कम्युनिस्ट नेताहरु एकाएक ‘समाजवाद’ शब्दप्रति मोह देखाउन थालेका छन्। ‘कम्युनिस्ट भारी’ बिसाउने सजिलो चौतारी खोजिएको हो?
नेपालमा कम्युनिस्ट पार्टीहरु ज्यादा लोकप्रिय छन्। जनतामा समाजवादी शब्द प्रिय छ। त्यसैले नाममा यही शब्द रोजेका हुन सक्छन्। अर्को चाहिँ, नेपालको संविधानले समाजवादलाई लक्ष्यका रुपमा उल्लेख गरेको छ। संविधानमा लेखेको हुनाले समाजवादी बन्न ज्यादा सजिलो भयो। तेस्रो, उहाँहरुमा रहेको अन्योल पनि हो। ‘कम्युनिजम’ भनेपछि समाजवाद भन्नुपर्दैन। समाजवाद कम्युनिजममा जाने बाटोको नाम हो। यी तीनटा कारणले यस्तो भएको हो। अहिले नेकपा (एमाले)बाट छुटेको समूहले नेकपा (एकीकृत समाजवादी) राख्यो। नेकपा भनेपछि समाजवादी राख्नुपर्दैनथ्यो। तर, वैचारिक ‘कन्फ्युजन’का कारण राखिएको होला।
कम्युनिस्ट भनेपछि अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी पुँजीवादी देशहरुमा स्वीकार्य कमजोर हुँदै गएको छ। कम्युनिस्ट देशहरुको असफलताले पनि यसबाट भाग्न खोजिएको हो त?
एउटा साधारण कारण यो पनि भन्न सकिएला। समाजवाद र कम्युनिस्ट दुवै पुँजीवादका लागि अस्वीकार्य हो। समाजवाद भनेर उसले छुट दिने होइन। समाजवाद शब्द नै पुँजीवादका लागि अपाच्य हो। चीन पनि समाजवादी नै हो। त्यसैले पुँजीवादीलाई यो शब्दप्रति पनि कम्युनिस्ट शब्द जस्तै एलर्जी भएकाले त्यस्तो हुने सम्भावना कम छ।
नेपालका कम्युनिस्टहरुले ‘कम्युनिस्ट आचरण’ लागू गर्न नसकेको टिप्पणी प्रायः सुनिन्छ। त्यसको महसुस भएर समाजवादी नाम बनाएको हुनसक्ने संभावना छैन?
समाजवाद शब्द मात्र होइन, व्यवहारमा अनुशरण गर्ने विषय हो। ‘समाजको हित नै मेरो हित, समाजको नाफा नै मेरो नाफा,’ यो नै समाजवाद हो। व्यक्तिगत पुँजी र नाफा पुँजीवाद हो। यहाँ त खाली साइनबोर्डका रुपमा समाजवाद लिइरहेको देखिन्छ। आचरण, विचार, सिद्धान्त र दैनिक व्यवहारका रुपमा समाजवाद अवलम्बन गरेको देखिँदैन। आचारण दलाल पुँजीवाद खालको छ, नाम राख्छन्, समाजवादी। यसले गर्दा नेपालमा ज्यादै ठूलो समस्या पैदा भएको छ। नेपालमा आचरण, व्यवहार र चरित्रको समस्या ठूलो छ। समाजवादी भनेका हरेक पार्टीमा यस्तो समस्या देख्छु।
कम्युनिस्ट छाडेर ‘नयाँ शक्ति’तर्फ लागेका बाबुराम भट्टराई अहिले ‘समाजवादी सेन्टर’ बनाउने तर्क गरिरहनुभएको छ। यो उहाँको अन्योल हो कि ‘फेस सेभिङ’?
उहाँको अन्योल हो। वैचारिक रुपमा कस्तो अन्योल देखियो भने, समाजवाद भनेको भिन्नै हो, कम्युनिज्म भनेको अर्कै हो। कम्युनिजम फ्रेन्च शब्दबाट आएको हो। कम्युनको अर्थ हो, समुदाय। समुदायवादलाई कम्युनिजम भनियो। समुदायको हित नै सर्वोच्च, समुदायको फाइदा नै सर्वोच्च, समुदायको सम्पत्ति नै सर्वोच्च भन्ने वादको नाउँ कम्युनिजम हो। तपाईं हामी सबै मिलेर निर्णय गर्छौं भने समुदायवाद हो। एक्लै निर्णय गर्छौं भने पुँजीवाद हो। मैले गर्दा अरु धेरैलाई नोक्सानी पार्न हुँदैन भन्ने भावना जाग्यो भने त्यो कम्युनिजम भयो। मलाई फाइदा भयो भने अरुलाई जेसुकै होस् भन्ने लाग्यो भने व्यक्तिवाद हो। समुदायवादलाई नेताहरुले दूरदराजको कुरा सम्झिरहेका छन्। जबकि, यो अहिल्यै घर–घरमा लागू गर्न सक्ने कुरा हो। व्यक्ति–व्यक्तिमा लागू गर्न सक्ने कुरा हो। समुदायवादलाई नेपालीमा अनुवाद गर्दा हिन्दीबाट ल्याएर साम्यवाद भनियो। साम्यवाद यसको अर्थ होइन, गलत अनुवाद हो। समुदाय (कम्युन) र समाजमा जे फरक छ समुदायवाद र समाजवादमा त्यत्ति फरक हो। यस्तो आधारभूत विषयमा बाबुराम भट्टराई जस्तो नेता अन्योलमा हुनुहुन्छ।
यो वामपन्थीहरुको कुरा भयो। पुँजीवादलाई मान्ने दक्षिणपन्थी नेता (महन्थ ठाकुर, राजेन्द्र महतो)हरु पनि अहिले समाजवादलाई आफ्नो राजनीतिक दर्शन मानिरहेका छन् नि?
समाजवाद शब्द तराइमधेशमा पनि असाध्यै लोकप्रिय छ। त्यहाँका जनताले ‘समाजवाद’ भनेर जाँदा बढ्ता भोट दिने स्थिति छ। नेपालमै यो लोकप्रिय शब्द हो। संविधानमा पनि समाजवाद भनेर लेखिएको छ। प्रस्तावनादेखि अन्य धेरै ठाउँमा यो शब्द लेखिएकाले उहाँहरुले प्रयोग गर्न थाल्नुभएको हो।
कम्युनिस्टहरुले आदर्श सिद्धान्त बनाएको, तर पुग्न नसकेको समुदाय(साम्य)वादतर्फको यात्रामा यसले सजिलो पार्ला कि नपार्ला? आचरण परिवर्तनमा केही भिन्नता देखिएला?
हामीले संविधानमा कतिपय कुरा लेखी नै सकेका छौं। जस्तो, माध्यमिक तहको शिक्षा निःशुल्क। स्वास्थ्यतर्फ हेर्दा आधारभूत स्वास्थ्य निःशुल्क भनिएको छ। रोजगारीको दायित्व राज्यको भनिएको छ। गाँस पनि राज्यको जिम्मामा भनेर लेखिएको छ। यी सबै समाजवादी एजेन्डा हुन्। पुँजीवादले त शिक्षा र स्वास्थ्यलाई नै बजारको बिकाउ मालका रुपमा लिन्छ। समाजवादले मात्र शिक्षा, स्वास्थ्य, रोजगारी, गाँस, बास र कपास राज्यको जिम्मामा ल्याउने हो। बाल्यकाल र वृद्धावस्था राज्यको जिम्मामा भनेर समाजवादले भन्ने हो।
यो एजेन्डा सर्वसम्मतिले संविधानमा राखिसकिएको छ। अब लागू गर्न के गाह्रो भयो? मौलिक हकमै लेखिएको छ। त्यसकारण समाजवाद नेपालमा लागू गर्न भरे, भोलि वा पर्सि पर्खिनु पर्दैन। यहीँ र अहिल्यैबाट सम्भव छ। हिजो पो अवैधानिक थियो। प्रतिबन्ध थियो। समाजवाद अहिले कांग्रेसको मात्रै होइन, राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि एजेन्डा भयो। यो पास गर्ने बेला राप्रपाले पनि सहमति जनाएको थियो।
कम्युनिस्ट पार्टीको सदस्य बनाउन पहिला नयाँ कार्यकर्तालाई प्रशिक्षण दिइन्थ्यो। आचरण र व्यवहार परिवर्तनका लागि प्रोत्साहन गरिन्थ्यो। अहिले त्यो अवस्था छैन। नयाँ पुस्तालाई कम्युनिजम पढाउन भन्दा समाजवाद भनेर सजिलै पार्टीमा तान्न सकिन्छ भन्ने चलाखी पनि हो?
कार्यकर्ता र जनताको समस्या होइन, यो। जनता नेपालमा कम्युनिजम नै चाहन्छन्। समाजवाद नै चाहन्छन्। २०४८ सालदेखि अहिलेसम्मको ‘भोटिङ ट्रेन्ड’ हेर्दा कम्युनिस्टलाई नै अत्यधिक बहुमत दिएको देखिन्छ। यहाँ समस्या नेताहरुको हो। नेताहरु कस्ता छन् भने समाजवादी एजेन्डा अगाडि सार्ने, तर बिहानदेखि बेलुकीसम्म ठेकेदारको संगत गर्ने। नेता आफैं पथ विचलित हुनाले, आफैं बिग्रेको हुनाले प्रशिक्षण गर्न नसकेको हो। अहिले त ठेकेदार पनि पैसा बुझायो भने अहिलेको अहिल्यै सदस्य हुन सक्छ।
अहिले कम्युनिजम रामनामी लुगा लगाए जस्तो भयो। मुखमा ‘राम सत्य हो, राम सत्य हो’ भन्यो, पेटमा अर्कै सत्य हुन्छ। नेतृत्वले कम्युनिजमको आदर्श छाडेको हुनाले, मूल्यमान्यता छाडेको हुनाले विकृति आएको हो। नेतृत्वले छाडेपछि कार्यकर्ताले पनि छाड्ने बाटो खुल्यो। नेताहरुलाई त सबैले देखेको छ। दश वर्षमा महल ठड्याएको कार्यकर्ताले थाहा पाएको छ। ‘आफू चाहिँ पुँजीवाद अपनाउने, हामीलाई समाजवाद भन्ने?’ भनेजस्तो भयो। अहिले नेतृत्वले बाटो बिराएको अवस्था हो। नेतृत्व ठीक ठाउँमा आउने हो भने कार्यकर्ता त छँदैछन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नाममा नेपाली कम्युनिस्टहरु एक ठाउँ आउने प्रयास असफल भयो। फेरि, कम्युनिस्ट पार्टीहरुको एउटा समूहले ‘समाजवादी केन्द्र’ बनाउने चर्चा गरिरहेका छन्। नेकपा भनेर सम्भव नभएको एकता समाजवादको बाटोबाट सम्भव होला?
घुमिफिरी त्यही बाटोमा नेपाल गइरहेको देख्छु। अहिले केपी शर्मा ओलीजीको पार्टी एक ठाउँमा र बाँकी सबै अर्को ठाउँमा हुने सम्भावना देखिरहेको छु। माधव नेपालको पार्टी, नेकपा माओवादी, जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्दको पार्टी एक ढिक्का भएर गठबन्धन वा पार्टी बन्ने सम्भावना छ। त्यो दिशातिर जानका लागि माओवादी केन्द्रले निर्णय नै गरिसकेको देखिन्छ। माधवकुमार नेपालले पनि त्यस्तै बोल्दै हुनुहुन्छ। बाबुराम भट्टराई त्यही बाटोमा हुनुहुन्छ। नेत्रविक्रम चन्दको पार्टी पनि त्यस्तै बोल्दैछ।
जम्मैले एउटै कुरा बोलिरहेका छन्, तर एउटै पार्टी हुन सक्छ कि सक्दैन भन्नेमा प्रश्न चिह्न छ। महासंघ जस्तो एउटा गठबन्धन भने हुनसक्छ। नेतृत्व पालैपालो गर्न सक्छन्। नेतृत्वको झगडा पर्ने त हो। चार वर्षमा चारजनाको पालो आइहाल्छ। त्यसरी एलाइन्स बनाउने सम्भावना बलियो छ। माओवादी ओरिजनबाट आएका एक ठाउँ आउन सक्छन्। उनीहरुको नाइटो त जोडिएकै छ। माधव नेपाल जोडिन पनि गाह्रो छैन। ओलीसँग छुट्दा सहकार्य गरेकै हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।