प्रतीकात्मक तस्वीर तनहुँ– तनहुँका २५ युवा मिलेर जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका छन्। उनीहरुले व्यास गण्डकी मल्टिप्रर्पोज कम्पनीको पहिलो शाखाअन्तर्गत व्यास गण्डकी जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका हुन्।
व्यास नगरपालिका–४ चुरे खोल्सीमा दुई रोपनी जग्गा खरिद गरेर उद्योग सञ्चालनमा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक मनोज राउतले बताए।
अहिले उद्योगबाट ७ सय जोरसम्म जुत्ता/चप्पल उत्पादन हुँदै आएको उनले बताए। उक्त उद्योगमा उत्पादित सामग्री तनहुँ, गोरखा, लमजुङका विभिन्न बजार क्षेत्रमा बिक्री हुँदै आएको उनको भनाइ छ।
करिब रु दुई करोडका लागतमा उद्योग सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
उद्योगमा हाल छ जनाले रोजगारी पाएका छन्। बजारको मागअनुरुप सामान उत्पादन गरी पुर्याउन गाह्रो भएको निर्देशक राउत बताए।
उत्पादित सामानमा हालसम्म कुनै कमजोरी नदेखिएको कम्पनीका सचिव दयाराज कट्टेलले दाबी गरे। राम्रो, गुणस्तर र बलियो भएकै कारण सबैको मन जित्न सफल भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।