प्रतीकात्मक तस्बिर
म्याग्दी– रघुगंगा गाउँपालिकाको रायखोरमा बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ। रघुगंगा–६ मा पर्ने रायखोर र मूलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको स्थानीय प्रदीप मगरले जानकारी दिए।
करिब ५ सय मिटर लामो र ५० फिटभन्दा गहिरो तलाउ बनेको उनले बताए। राहुघाट कालीगण्डकी नदीको सहायक नदी हो।
गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले नदी थुनिएको खबर पाउनेवित्तिकै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको बताए। राहुघाटको तटीय क्षेत्रमा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको विद्युतगृह, ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माणाधीन छन् ।
बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिकाको राहुघाटमा आएर राहुघाट नदी कालीगण्डकीमा मिसिन्छ। प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले चिमखोलामा रहेको सेनाको क्याम्पबाट सुरक्षाकर्मीलाई तलाउ निरीक्षणका लागि पठाइएको र तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।