फाइल तस्वीर धनगढी– कैलालीमा किसानको स्थानीय उत्पादन बिक्री गर्ने हाटबजार सञ्चालनमा नआउँदा तरकारीको मूल्य आकाशिएको छ। कोरोना महामारी समुदायमा फैलिएपछि बन्द भएका हाटबजार सञ्चालनमा नआउँदा किन्न नसक्ने गरी तरकारीको मूल्य बढेको हो।
कोरोनाका कारण गत वैशाखबाट बन्द हाटबजार सञ्चालनमा आउन सकेको छैन। स्थानीय तरकारी उत्पादनमा कमी हुँदा बजार मूल्य धेरै तिर्नुपर्छ । सिजनल समयमा धेरै किसान तरकारी उत्पादनमा सहभागी हुन्छन्। यो समयमा धेरैले धानखेती गर्छन्, अझ उत्पादन भएको तरकारीसमेत बजारमा आउन पाएको छैन।
वैशाखमा लकडाउन भयो। लकडाउनका समयमा बारीमा उत्पादन भएको तरकारी बजार नपाएर किसानले बारीमै नष्ट गरे। जिल्लामा यो सिजनमा तरकारीमात्र होइन फलफूलको समेत मूल्य वृद्धि भएको छ।
वर्षाका सिजनमा स्थानीय क्षेत्रमा तरकारी उत्पादनमा कमी हुनुका साथै अन्य जिल्लाबाट तरकारी आयात हुने हुँदा तरकारीको मूल्य उच्च भएको उपभोक्ता माया चौधरीले बताइन्।
अहिले जिल्लामा भारतीय बजारसँगै सुदूरपश्चिमको पहाडी इलाकाबाट तरकारी आयात हुने गरेको छ। पहाडी जिल्ला तथा भारतबाट आउने भएकाले तरकारीको मूल्य उच्च हुने गरेको स्थानीय तरकारी उत्पादक किसान बलीराम चौधरीले बताए।
ग्रामीण क्षेत्र उत्पादन केन्द्रित र शहर क्षेत्र तरकारीको खपत हुने क्षेत्रका रूपमा नभई सानो क्षेत्रमा करेसाबारी, कौशीखेतीको अवधारणाले तरकारी उत्पादनमा लाग्न सके तरकारीको उच्च मूल्यको मारबाट बच्न सकिने कृषि प्राविधिकको सुझाव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।