कर्णाली- कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त प्रहरी टोलीले ११ फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
आइतबार नौ र आज दुई गरी ११ फरार प्रतिवादीलाई उक्त टोलीले पक्राउ गरेको हो। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार सम्बन्ध विच्छेद, चेक अनादर र जुवा मुद्दाका एक/एक, घरेलु हिंसाका दुई, अंशबण्डा मुद्दाका चार गरी जम्मा नौजना फरार प्रतिवादीलाई आइतबार पक्राउ गरिएको छ।
त्यसैगरी, आज पक्राउ पर्नेमा कुटपिट मुद्दाका एक र जुवा मुद्दाका एक रहेका छन्। पक्राउ परेका सबै फरार प्रतिवादीलाई जिल्ला अदालत सुर्खेतमा बुझाइएको उनले जानकारी दिए।
अदालतको फैसला कार्यान्वयनका लागि प्रहरी थालेको विशेष अभियानअन्तर्गत चालु आर्थिक वर्षको पहिलो साउन महिनाको तीन सातामा ३७ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। अदालतमा बुझाइएका प्रतिवादीहरुले २२ वर्ष ११ महिना २८ दिन कैद सजाय भुक्तान गर्नुपर्ने छ। उनीहरुबाट दुई लाख आठ हजार ४५० रुपैयाँ जरिवाना असुल भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।