सडककाे अवस्ठा
मेलम्ची– करिब नौ सय मिटर सडक सफा नगर्दा सिन्धुपाल्चोकका बाढी प्रभावित यातायातका साधन प्रयोग गर्नबाट वञ्चित भएका छन्। बाढीले मुल सडक बगाएको र वैकल्पिक सडक सफा नगर्दा यातायातका साधन सञ्चालन हुन नसकेको हो।
साउन १७ र त्यसपछिका निरन्तर बाढीले हेलम्बुदेखि मेलम्चीसम्मका करिब आधा दर्जन पक्की र झोलुङे पुल बगाएपछि स्थानीयवासीलाई आवतजावतमा निकै समस्या परेको छ।
बाटो बगाएपछि अहिले मेलम्ची घ्याङ, तिम्बु, बरुवा, शेर्माथाङ र मेलम्ची नगरपालिकाका विभिन्न स्थानका बासिन्दाको जनजीवन कष्टकर बनेको छ।
वैकल्पिक रुपमा रहेको किउल, पाल्चोक, दुवाचौर र मेलम्ची सडकको दुई ठाउँमा हिलोले यातायात सञ्चालनमा समस्या रहेको छ।
यो वैकल्पिक मार्ग सञ्चालनमा आए खाद्य सामग्री ल्याउन सहज हुने हेलम्बु–२ का स्थानीय वसन्त रिमाल बताउँछन्।बाटो सञ्चालनमा आए हेलम्बु, पाल्चोक, मेलम्ची, दुवाचौर, बाँसखर्क र बरुवामा सवारीसाधन बस चल्नेछन्।
स्थानीय सरकारले ध्यान नदिँदा बाटो सफा हुन नसकेको मेलम्ची– ८ का स्थानीय अरुण लामाको भनाइ छ। मेलम्ची– ७ को विचारीचौरमा ९ सय मिटर र सेल्लेमा ५० मिटर बाटो हिलाम्मे रहेकाले मोटरसाइकलमा समेत यात्रा गर्न कठिन रहेको छ।
हेलम्बु गाउँपालिका क्षेत्रमा ग्राबेल हालिसकेको बताउँदै अब मेलम्ची नगरपालिकाले दुई ठाउँमा ग्राभेल हाले बस चल्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए।
बाटो निमार्णका लागि बजेट विनियोजन गरिसकेको बताउँदे मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले तत्काल काम सुरु गरी वैकल्पिक मार्ग सञ्चालन गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।