रसुवा– रसुवागढी नाकाबाट आइतवार एकैदिन १० कन्टेनर स्याउ भित्रिएको छ।
चीनबाट दैनिक नेपाल आयात हुने सामग्रीमध्ये आइतवार स्याउमात्र भित्रिएको हो। स्याउ बोकेका मालबाहक सवारी साधनलाई भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइसकिएको कार्यालयले जनाएको छ।
आयात भएका स्याउको परिमाण भने सय टनभन्दा धेरै रहेको भन्सार अधिकारीले जनाएका छन्। स्याउ सड्ने गल्ने वस्तुमा पर्ने भएका कारण आयात भएकै दिनमा भन्सार प्रक्रिया पूरा गर्ने गरिएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए।
रसुवा भन्सार कार्यालयले चीनबाट आयात भएका सामग्रीबाट चालु आवको २३ दिनको अवधिमा भन्सार शुल्कबापत ५१ करोड ५३ लाख ३० हजार रुपैयाँ राजस्व आर्जन गरेको छ।
यही साउन १ गतेदेखि २३ दिनको अवधिमा असुल भएका भन्सार शुल्कबापतको राजस्वमध्ये करीब रू. १५ करोड सवारी साधन आयातबाट प्राप्त भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए।
नेपालमा निर्माणाधीन जलविद्युतका उपकरण, जुत्ताचप्पल, तयारी पोशाक, लसुन, अदुवा एवम् अक्सिजन उत्पादनका उपकरण तथा सिलिण्डरका साथसाथै मेडिकललगायत विविध सामग्री आयात भइरहेको भन्सार कार्यालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।