काठमाडौं– कोरोनाको तेस्रो लहरका लागि तयारी गर्दै सूर्यविनायक नगरपालिकाले ५० शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालन गर्ने भएको छ। अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालको भवन निर्माण कार्य सम्पन्न भइसकेको नगरपालिकाले जनाएको छ।
सूर्यविनायक–८ जगाती चोकमा भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको सरकारको ३० रोपनी क्षेत्रफलमा अस्पताल सञ्चालनका लागि भवन निर्माण गरिएको हो।
नगरपालिकाका प्रमुख वासुदेव थापाले निर्माण सम्पन्न भएको भवन र अस्पतालका लागि जडान भइरहेको विभिन्न प्राविधिक सामानको अवस्थाबारे अनुगमन गरे। सो अवसरमा प्रमुख थापाले जतिसक्दो छिटो काम सक्न निर्देशनसमेत दिए।
आगामी असोज १ गते अस्पताल उद्घाटन गरी सेवा सञ्चालनको तयारी गरिएको थापाले बताए। अस्पतालमा आईसीयू, एचडीयू, भेन्टिलेटर र जनरल वार्ड गरी सुरुमा २५ शय्या सञ्चालन गर्ने र कोरोनालगायत अन्य बिरामी सङ्ख्या बढेमा सरकारसँग स्वीकृति लिई ५० शय्या पु¥याउने गरी तयारी गरिएको नगर प्रमुख थापाको भनाइ छ।
सांसद महेश बस्नेतको सांसद विकास कोष र नगरपालिकाको बजेटमा अस्पताल निर्माण भएको सूर्यविनायक–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।