दमौली- तनहुँको शुक्लागण्डकी नगरपालिका-३ कार्कीडाँडास्थित भित्री कच्ची सडकमा आज दिउँसो भएको जिप दुर्घटनामा नौ जना घाइते भएका छन्।
हटियाबाट दुलेगौडातर्फ आउँदै गरेको ग २ च ४०३४ नम्बरको जिप ब्रेक फेल भई नालीमा पल्टिँदा जिपमा सवार नौ जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये छ जनालाई पोखरा पठाइएको छ भने तीन जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
भीमकाली मोटरमार्ग १० दिन बन्द
तनहुँको भिमाद नगरपालिकाअन्तर्गत भिमकाली मोटरमार्ग १० दिन बन्द हुने भएको छ। उक्त मोटरमार्गको जिदीखोला-वंशान खण्डको शेरा उकालोमा सडक ढलान तथा कटिङ गरी बाटो फराकिलो बनाउन उक्त मोटरमार्ग साउन २० गतेदेखि २९ गतेसम्म बन्द गर्न लागिएको हो।
बाटो बन्द हुने भएपछि नगरपालिकाले वैकल्पिक मार्गको रूपमा भिमाद जलौदी हुँदै सम्धी मार्गबाट आवतजावत गर्ने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत थमनसिं थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।