काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले राजीनामा नदिने भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनबमोजिम ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कार्यकारी निर्देशक शाक्यलाई राजीनामा दिन आग्रह गरेकी थिइन्। तर, शाक्यले तत्काल राजीनामा नदिने र सरकारले हटाए अदालतमा जाने बताएको प्राधिकरण स्रोतले बताएको छ। उनले आफू चार वर्षका लागि नियुक्त भएको भन्दै राजीनामा नदिन अडान लिएको स्रोतको भनाइ छ।
'मैले चार वर्षका लागि नियुक्ति पाएको हुँ, राजीनामा दिन्नँ,' शाक्यलाई उद्धृत गर्दै प्राधिकरण स्रोतले भन्यो, 'सरकारले हटायो भने अदालत जान्छु।'
प्रधानमन्त्री देउवाले प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री भुसाललाई निर्देशन दिइसकेका छन्। केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारबाट नियुक्ति पाएका शाक्यलाई कार्यसम्पादन राम्रो नभएको भन्दै कार्यकारी निर्देशकबाट हटाउने तयारी गरिएको हो। उनले राजीनामा नदिए स्पष्टीकरणमार्फत् हटाउने तयारीमा ऊर्जामन्त्री भुसाल रहेको ऊर्जा मन्त्रालय स्रोतले बताएको छ।
ओली सरकारले घिसिङको कार्यकाल सकिएको झण्डै पाँच महिनापछि २७ माघ २०७७ मा सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।