नवलपुर– मध्यविन्दु नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सुविधा सुरु गरेको छ। मध्यविन्दु–१५ का देशबहादुर गुरुङको सम्पत्ति कर भुक्तानी गर्दै नगरपालिकाले अनलाइन राजस्व भुक्तानी सुरु गरेको हो।
मध्यविन्दु नगरपालिका प्रमुख चन्द्रबहादुर रानाले अब नगरवासीले सम्पत्ति तथा भूमी, व्यवसाय र घरबाहल कर भुक्तानीका लागि नगरपालिका वा सम्बन्धित वडा कार्यालय पुग्नुनपर्ने बताए। विद्युतीय भुक्तानी सुरु भएपछि नगरपालिकाका स्थानीय करदाताले घरबाटै बसेर अनलाइनमार्फत राजस्व भुक्तानी गर्न सक्ने नगरप्रमुख रानाले बताए।
अनलाइन भुक्तानी सुरु भएपछि राजस्व भुक्तानीमा सेवाग्राहीको सहभागिता र राजस्वको दायरा वृद्धि हुने विश्वास लिइएको रानाको भनाइ छ। विद्युतीय भुक्तानीबारे करदातालाई शिक्षा दिनसमेत नगरपालिकाले आवश्यक कार्य गर्ने नगरउपप्रमुख ओमकुमारी महतोले बताइन्।
आइतबारदेखि अनलाइन प्रणाली सुरु भएपछि सबै करदाताले विद्युतीय प्रणालीमार्फत सजिलै राजस्व भुक्तानी गर्न सक्ने महतोको भनाइ छ।
नगरपालिकाले विद्युतीय भुक्तानीका लागि इसेवासँग सम्झौता गरेर काम अगाडि बढाएको नगरपालिका आइटी शाखा प्रमुख नरेश गुरुङले बताए। अन्य अनलाइन भुक्तानी गर्ने सेवा प्रदायकसँग पनि सम्झौता गरेर भुक्तानी व्यवस्थालाई सहज बनाउँदै लैजाने तयारीमा नगरपालिका जुटेको गुरुङको भनाइ छ।
करदाताले कर तिर्न इ–पोर्टलमा विवरण भरेर दर्ता गराएपछि इसेवा डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोबाइलबाटै कर भुक्तानी गर्न सकिने गुरुङले बताए। यो प्रणालीबाट राजस्व अनलाइनबाटै भुक्तानी गर्न र आफूले तिरेको शुल्कको रसिद अनलाइनबाटै प्राप्त गर्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।