नेपाली कांग्रेस पुरानो अवस्थाको नहुँदा सबै कार्यकर्ता चिन्तित छन्। पार्टी १४औं महाधिवेशनको संघारमा छ। पार्टी कसरी कुन रुपमा अगाडि बढ्दछ, चिन्ता सबैलाई छ।
जिल्लाहरूमा क्रियाशील सदस्यताको विवाद छ। अन्य दलबाट कांग्रेसमा आएकाहरूको समायोजनको विवाद पनि छ। नयाँ क्रियाशील सदस्यताको के हुने भन्ने चिन्ता पक्कै छ। यो नेता तथा कार्यकर्ता सबैको चासोको विषय हो। समस्या एउटा जिल्लामा मात्रै होइन, धेरै जिल्लामा छ।
अप्ठ्यारो लाग्ने तर पार्टीका शीर्ष नेताहरूलाई भन्नै पर्ने एउटा विषय छ। पदाधिकारी र पूर्वपदाधिकारीको निरन्तर बैठक बसिरहेको हुन्छ। अर्कोतर्फ विभिन्न जिल्लाबाट हामीलाई नेता कार्यकर्ताले सोधिरहेका हुन्छन, ‘१४औं महाधिवेशन समयमा हुन्छ कि हुँदैन?’ पार्टी सभापति र प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १६ मा महाधिवेशन उद्घाटन गर्छु भन्नुभएको छ। सभापति र पदाधिकारीलाई आग्रह छ- नेपाली कांग्रेसका सोझा कार्यकर्ताहरुलाई अब भुलभुलैयामा नराख्नुस्।
क्रियाशील सदस्यता छानविन समितिले जति सक्ने हो, त्यसको क्षमताले सक्ने जति गरिसक्नुभएको छ। क्रियाशील सदस्यता छानविन समितिले टुंगाएको कतिपय कार्यमा चित्त नबुझेको पनि हुनसक्छ। तर, नेताहरूको दबाब र समितिका सदस्यको क्षमता अनुसार धेरै काम भएको छ। समितिले आफ्नो कार्य सकाएपछि प्रतिवेदन पदाधिकारी हुँदै तीन शीर्ष नेताकहाँ आइपुगेको छ। विवाद भएका स्थानको समाधान पाँच दिनभित्र उहाँहरूले निकाल्ने भन्नुभएको छ।
वडा तहदेखिको अधिवेशन हामीले सुरु गर्न सकेनौं। त्यसका लागि हामीले क्षमा माग्नुपर्दछ। कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले अलोकतान्त्रिक कार्य गर्न थाल्यौं भने अन्य दलले के गर्छन्? लोकतन्त्रको अभ्यासको पाठशाला कांग्रेस हो। हामीले अरु राजनीतिक दललाई लोकतन्त्रको बारेमा सिकाउनुपर्ने हो। चार वर्ष भित्र हुनुपर्ने महाधिवेशन पाँच वर्षमा हुन सकेन। संविधानले दिएको ६ महिना पनि भदौ २३ मा सकिँदैछ। त्यसभित्र महाधिवेशन गर्न सकेनौं भने कांग्रेसका लागि संवैधानिक जटिलता निम्तिन्छ।
पदाधिकारी/पूर्वपदाधिकारी दिनहुँजसो बैठकमा बसिरहनुभएको छ। तर, निर्क्योल निकाल्न सकिरहनु भएको छैन। पदाधिकारी तथा पूर्वपदाधिकारीबाटै आएका कुराहरु नै सामाजिक सञ्जालमा छन्। कतिले भन्नुहुन्छ, तीन तहको निर्वाचन डेढ वर्ष भित्रमा गर्नुपर्ने छ। तीनै तहमा हामीले जित्नुपर्नेछ। तसर्थ, दुई वर्षपछि महाधिवेशन गरौं भन्ने कुरा आएको छ। त्यति मात्रै होइन, पदाधिकारीको संख्या थप्ने कुरा पनि छ। यस्ता कुरा पदाधिकारीबाटै आएको छ। यस्ता कुराले नेपाली कांग्रेसलाई कमजोर बनाउँछ।
स्वस्थ लोकतन्त्रमा विश्वास गर्ने कांग्रेसले स्वस्थ प्रतिस्पर्धामा विश्वास गरेको हुन्छ। प्रतिस्पर्धाले पार्टीमा नेतृत्व जन्माउँछ। ‘तिमी आज यो भयौ’ भनेर जिम्मेवारी दिएर नेतृत्व जन्मिन सक्दैन। समयावधि थप्ने वा पदाधिकारी थप्ने कुरालाई मैले अस्वीकार गर्दै आएको छु। कुनै पद दिएमा म स्वीकार्ने पक्षमा छैन। यो विषय कुनै एक व्यक्तिको सन्दर्भ होइन, पार्टी कार्यकर्ताको भविष्यको विषय हो। पूर्वदेखि पश्चिमसम्मका नेता/कार्यकर्ताको भविष्य नेपाली कांग्रेसको महाधिवेशनसँग जोडिएको छ। समयावधि थप्ने कार्य भयो भने त्यसकारण पनि स्वीकार्न हुँदैन।
महाधिवेशनको प्रक्रिया भदौमा सुरु गर्ने अर्को कुरा पनि आइरहेको छ। वडाको अधिवेशन भदौमा सुरु गरेर मंसिरसम्म महाधिवेशन गर्ने चर्चा पनि पार्टीमा चलेको छ। तेस्रो कुरा, भदौमा महाधिवेशन गर्ने तर तल्लो तहका संरचनामा केहीको मात्रै अधिवेशन सम्पन्न गरेर। सबै तहको अधिवेशन नगरेर नजरअन्दाज गर्याैं भने पनि नेतृत्व विकास हुन सक्दैन। नेतृत्व विकास गर्नलाई सबै तहको अधिवेशन हुनुपर्दछ। वडाको भदौ १५–१६ मा सुरु गरेर अरु तहको विस्तारै गर्दै जान सकिन्छ। निरन्तर अधिवेशन गर्दै जाने क्रम भए दसैं तिहारको बीचमा पनि जिल्ला/क्षेत्रको अधिवेशन गर्न सकिन्छ।


भदौ २३ पछि महाधिवेशन गर्दा हामीलाई संवैधानिक जटिलता छ। कांग्रेसकै कारणले संविधानमा ६ महिना थप अवधि दिने व्यवस्था राखिएको थियो। १३औं महाधिवेशन हुन नसकेपछि उक्त व्यवस्था राखिएको हो। पटक-पटक कांग्रेसले यस्तै गर्दै जाने हो भने पार्टीको विश्वसनियता घट्दै जान्छ। कांग्रेसका लागि अहिले अत्यन्तै संकट छ। विभिन्न दलका केही न केही मुद्दा अदालतमा परिरहेको छ। संवैधानिक प्रावधान कांग्रेसले मिच्यो भने कसै न कसैले कांग्रेसविरुद्ध मुद्दा दायर गर्नसक्छ। केन्द्रीय महाधिवेशन तोकिएको मितिमा सुरु गर्न सकिएन भने त्यस अवधिमा तल्लो तहको अधिवेशन सुरु गर्नु नै पर्दछ।
साथै, महाधिवेशनको प्रक्रिया सुरु भएको जानकारीसहितको पत्र निर्वाचन आयोगलाई पनि पठाउनुपर्ने हुन्छ। महाधिवेशनको प्रक्रिया यो मितिबाट सुरु भएर यहाँ पुगेर अन्त्य हुन्छ भनि जानकारी गरायौं भने आयोगले केही न केही ‘कन्सिडर’ गर्ला। जरिवाना दिएर समयावधि थप्न सकिने कुरा पनि उठेका छन्। बुझ्नुपर्ने के हो भने ऐनले संविधान काट्न सक्दैन।
क्रियाशील सदस्यताको विवाद धेरै जिल्लामा छ। बारा र सप्तरी जिल्लाको डकुमेन्ट नै खोलिएको छैन। समायोजनका नाममा विभिन्न पार्टीबाट ४ हजार प्रवेश गरेको भनिएको छ। त्यो चार हजार को हो? थाहा छैन।
प्रधानमन्त्रीले भदौ १६ मा महाधिवेशन उद्घाटन गर्छु भन्दा म झस्किएको छु। तरुण दलको राष्ट्रिय अधिवेशन उद्घाटन गर्नुभएको थियो। तर, ३ जनामा सीमित भयो तरुण दल। झस्किएको कारण कतै नेपाली कांग्रेस पनि तरुण दलको अवस्थामा त पुग्दैन भन्ने हो। वरिष्ठ नेता रामचन्द्र पौडेल पनि तोकिएको समयमा महाधिवेशन हुन्छ भन्नुहुन्छ।तर, म संकेत देख्दिनँ।
भावी नेतृत्व कस्तो हुनुपर्छ भनि कार्यकर्ताको जिज्ञासा छ। केन्द्र, जिल्ला, गाउँ, वडा सबै तहको जागरुक हुनुपर्दछ। नेतृत्व चयन गर्ने आधार कांग्रेसका लागि क्षेत्रीय प्रतिनिधि चयन हो। क्षेत्रीय प्रतिनिधि बनाउँदा सबैभन्दा कमजोरी भइरहेको छ। आफ्नो नजिकको व्यक्तिलाई क्षेत्रीय प्रतिनिधि बनाउँछौं। उसले नेपाली कांग्रेसमा कति योगदान गर्छ/गर्दैन, त्यो हेर्दैनौं। क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि चयन गर्दछ। सबैलाई जिताउन क्षेत्रीय प्रतिनिधिको भूमिका हुन्छ। तर, चयन प्रक्रिया गर्दा पार्टीले कम महत्व दिएको छ। भावी नेतृत्व राम्रो बनाउने भए सक्षम व्यक्तिलाई क्षेत्रीय प्रतिनिधिमा चुन्नुपर्दछ।
क्रियाशील सदस्यता सूचीकृत गर्दा कतिपय स्थानमा ५/७ जना थपिएको छ। ५/७ जना थप्नुको तात्पर्य फरक रहेछ। थपिएकै ती क्रियाशीलले जिताउने र हराउनेमा मुख्य भूमिका खेलेका हुने रहेछन्। तल्लो तहबाट सहमतिमा आएका नामलाई रुजु नै गरिएको छ।
नयाँ विधान अनुसार नेपाली कांग्रेस सामूहिक नेतृत्वबाट अघि बढ्ने प्रवन्ध छ। कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित हुनुपर्ने व्यवस्था राखिएको छ। विधानको अर्को सबलपक्ष जातिय क्लष्टरलाई हामीले समातेका छौं। वडा तहसम्म जातिय क्लष्टरको व्यवस्था विधानमा भएपनि स्थानीय तहमा विधानसँग मेल नखाने रहेछ। जातिय क्लष्टर भनिएपनि कति प्रतिशत उक्त समुदायको भनि किटान गरिएको छैन। वडामा विभिन्न जातिय समुदायका नागरिक कति छन्? अझै पनि क्लियर छैन। यसलाई मिलाउने कार्य निर्वाचन निर्देशिकामार्फत् होला।
कसरी पार्टी चल्दैछ भनी नयाँ नेतृत्व चयन गर्नुपर्दछ। तीन वटा निर्वाचन डेढ वर्षभित्र फेस गर्नुपर्नेछ। पार्टीभित्र मत दिँदा कार्यकर्ताले अत्यन्तै विवेक पुर्याउनुपर्नेछ। गुट उपगुट पार्टीभित्र हुन्छन्, त्यसलाई अन्यथा मान्नुपर्दैन। गुट हुनु अस्वभाविक होइन। प्रतिनिधिहरुलाई मेरो आग्रह छ- नेतृत्व गर्दा हात नकमाउनुहोला।
सभापतिको दाबी मैले पनि गरेको छु। सभापति बन्ने अवसर पाएँ भने म एकपटकको मात्रै सभापति हो। एक पटकको लागि केन्द्रीय सभापति हुँदा पार्टीका लागि धेरै कार्य गर्न सकिन्छ। दोहोर्याएर सभापति हुँदा आठ वर्ष जान्छ। र, पार्टीबाट प्रधानमन्त्री हुने अवस्था आएर सभापति नै प्रधानमन्त्री हुन हुँदैन। दुई पद फरक-फरक व्यक्तिको जिम्मामा हुनुपर्दछ।
यसपटक क्रियाशील सदस्यतामा युवाहरुको उपस्थिति अलि बढेको छ। २५ वर्षसम्मको युवा कांग्रेस प्रवेशमा अझै पनि हिच्किचाइरहेको आभाष भएको छ। २५ वर्षमूनिका ५ प्रतिशत मात्रै छन्। २५ देखि ४० वर्ष उमेर समूहका २८ प्रतिशत छन्। १५औं महाधिवेशनमा तल्लो तहमा ६० प्रतिशत र केन्द्रमा ४० प्रतिशत क्रियाशील सदस्यतामा युवा समूहलाई अवसर दिनुपर्दछ। पाका मानिसको अनुभव र युवाको ऊर्जाले कांग्रेस बलियो दल हुनेछ।
(आइतबार काठमाडौंमा भएको एक अन्तक्रियामा कांग्रेस नेता कोइरालाले व्यक्त गरेको विचारमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।