चितवन– कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोबार क्रमशः बढ्न थालेको छ।
अण्डा तथा मासुको खपत कम हुने मानिएको साउन महिनामै अण्डाको मूल्य बढेर हालसम्मकै उच्च भएको छ। यस्तै, मासुको मूल्य समेत लागतभन्दा बढेको व्यवसायीहरुको भनाइ छ।
निषेधाज्ञाका समयमा तीन सातासम्म पनि ब्रोइलर चल्लाको बिक्री शुन्य भएकामा अहिले भने क्रमशः बढ्दै गएर प्रतिगोटाको मूल्य ७० रुपैयाँ पुगेको छ।
नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय समितिका निवर्तमान अध्यक्ष टीकाराम पोखरेलका अनुसार ब्रोइलर चल्लामा ठूलो नोक्सान भएको छ। उनले भने, 'निषेधाज्ञाका समयमा तीन साता हामीले चल्ला बेच्न सकेनौं।' गएको तीन महिनामा अन्य हप्ता लागत मूल्यका आधारमा बेच्नसमेत मुस्किल परेको उनको भनाइ छ।
ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा ५६ रुपैयाँ पर्दछ। एक सातामा देसभरका ह्याचरीले ३० लाख चल्ला उत्पादन गर्ने पोखरेलले जानकारी दिए।
लेयर्स चल्ला भने पुर्याउन मुस्किल परेपछि व्यवसायीले नोक्सान बेहोर्नु परेको छैन। लेयर्स प्रतिगोटा १७० मा बिक्री भइरहेको छ। देशभरमा ३४० वटा ह्याचरी दर्ता भएकामा ६० जति बन्द रहेको उनको भनाइ छ।
सोमबार (साउन ११ गते)देखि लागू हुनेगरी अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको) ३८५ र मिडियम प्रतिक्रेट ३५५ रुपैयाँ कायम गरिएको छ। नेपाल अण्डा उत्पादक संघले लागू गरेको यो दर रेट हालसम्मकै उच्च हो। केन्द्रीय अध्यक्ष शिवराम केसीका मागअनुसार अण्डा पुर्याउन कठिन भएको बताए।
हाल दैनिक ३३ लाख हाराहारी अण्डा उत्पादन भएको अनुमान छ। अन्य समयमा यो सङ्ख्या ४७ लाखसम्म पुग्ने गरेको केसीद्ये जानकारी दिए। निषेधाज्ञाका समयमा अण्डाको रेट प्रतिक्रेट ३३० सम्म झरेको थियो। हाल अण्डाको लागत मूल्य प्रतिक्रेट ३६० हाराहारी पर्ने उनको भनाइ छ। बजारको मागअनुसार दररेट बढाइएको उनले जानकारी दिए।
अण्डाको मूल्य बढे पनि दानाको कच्चापदार्थको दर उच्च हुँदा किसानले सोचे जस्तो मुनाफा नपाएका कृषक बताउँछन्। पोल्ट्री व्यवसायी मदन पोख्रेल कुखुराको दानामा प्रयोग हुने प्रतिकिलो ५० पर्ने भटमास १०५ रुपैयाँसम्म पुगेको र २२ रुपैयाँ प्रतिकिलो हाराहारीमा पाउने मकैको मूल्य ३७ रुपैयाँ प्रतिकिलोसम्म पुगेको बताउँछन्। व्यवसायी पोख्रेलले भने, 'दानाको मूल्यसँगै अण्डाको मूल्य बढेकाले हामीलाई त्यति नाफा छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।