काठमाडौं- सुशीला र उनका श्रीमानको दैनिकी ठीक विपरीत दिशामा चल्छ। उनलाई दिउँसोदेखि झमक्क रात नपरेसम्म मकै पोल्न भ्याइनभ्याइ हुन्छ। श्रीमान् रक्सी खाएरै दिन बिताउँछन्। उनी दुःख गरेर कमाउँछिन्। श्रीमान् भट्टीमा गएर उडाउँछन्। उनी आमा हुनुको जिम्मेवारी निभाइरहेकी छिन्। श्रीमान् बाबु हुनुको ‘उन्माद’ देखाइरहेका छन्।
उनको नाम सुशीला खड्का, उपनाम सुशीला आमा। मकै खाने ग्राहकहरुले उपनाम दिएका हुन्। उनलाई यसरी बोलाएको मीठो लाग्छ। तर, मीठो छैनन्, जीवनका आरोह–अवरोहहरु।
टन्टलापुर घाम होस् या दर्के पानी, आगो फुक्न छाड्दिनन्। उनी काठमाडौंको बिजुलीबजारबाट अनामनगर जाने सडक किनारमा भेटिन्छिन्। यही ठाउँमा मकै पोल्न थालेको ६ वर्ष भइसक्यो। मकै पोलेरै दुई छोराछोरी पढाइरहेकी छिन्।
उनले आफू कलिलै उमेरको हुँदा आमा गुमाएपछि जिन्दगीको बाटो नै मोडियो। आमा बित्दा किशारी थिइन्। घरमा आर्थिक अवस्था राम्रो थिएन। आमा नै नभएपछि घरमा बसिरहन सकिनन्। अनि काम खोज्दै रामेछापबाट काठमाडौं आइन्।
उनले गाउँ छाडेर शहर पसेको तीन दशक भइसक्यो। सुरुमा ज्यामी काम गरिन्। काम गर्ने सिलसिलामा नै श्रीमानसँग भेट भएको थियो। चिनजान र बोलचाल भयो। मन मिलेपछि बिहे गरे। उति बेला जाँड–रक्सी खाए पनि काम गर्थे। दुई जनाको कमाइले परिवार चलेको थियो।
सधैँ ज्यामी काम गर्दा शरीरले धान्न छाड्यो। दुई बालबच्चा भए। अनि लामो समय अरुको घरमा सरसफाई गरेर परिवार पालिन्। छोराछोरी पढाइन्। तर, बिस्तारै श्रीमान् रक्सीको लतमा फसे। काम गर्न छाडे। उल्टै भएको पनि सक्न थाले। एक्लैले कमाएको पैसाले परिवार पाल्न समस्या भयो। त्यसपछि मकै पोलेर बेच्न थालिन्।
मकै पोल्न पनि सजिलो छैन। वर्षामा सस्तो हुन्छ र सजिलै पाइन्छ। हिउँदमा मकै जुटाउनै गाह्रो छ।, महङ्गो पर्छ। दाउरा पनि उस्तै महङ्गो छ। पानी पर्दा काम गर्न गाह्रो, चर्को घाममा पनि गाह्रो। तर, मकै खाने उनका ग्राहक भने वर्षा र हिउँदमा उत्तिकै छन्।
उनी मकै लिन बिहानै कालीमाटी पुग्छिन्। दिउसोबाट मकै पोल्न थाल्छिन्। बिजुलीबजारको त्यो चोक सार्वजनिक यातायातको ‘स्टेसन’ पनि हो। आउने–जाने भीड भइरहन्छ। त्यही भीडबाट मकै खानेहरु फुत्त निस्किन्छन्। त्यसबाहेक दिउसोको खाजा खाने कतिपय नियमित ग्राहक पनि छन्। तिनै ग्राहकले हो, उनको उपनाम ‘सुशीला आमा’ राखिदिएका।
उनी प्रतिघोगा रु.३० मा मकै बेच्छिन्। दिनमा रु.१ हजार ५०० देखि २ हजारसम्म कमाउँथिन्। अहिले भने ५० घोगा मकै बिक्न मुस्किल छ। कोरोना महामारीले उनको जीवनमा समस्याका खात लागेका छन्।
निषेधाज्ञा खुकुलो भए पनि मान्छेको आवातजावत पहिलाजस्तो छैन। आवातजावत गर्नेले पनि पहिलाजस्तो मकै खान छाडेका छन्। सडकतिर उभिएर खान हच्किन्छन्। उनी मकै खानेहरुको पहिलाको जस्तै भीड पर्खेर बसेकी छिन्।
कोरोना महामारीको पहिलो लहरमा गरिएको बन्दाबन्दी र दोस्रो लहरमा गरिएको निषेधाज्ञाले उनको जीवनको रथ रोकिएझैँ भयो। यसै पनि ‘रथका दुई पाङ्ग्रा’ श्रीमान् र श्रीमतीको गति फरक थियो। त्यसमाथि महामारीको प्रहार पर्यो। उनलाई फेरि निषेधाज्ञा लाग्ने हो कि भन्ने पीर छ।
उनले निषेधाज्ञामा लागेको ऋण तिर्नै सकेकी छैनन्। खाद्यान्न पसलमा उधारो तिरेकी छैनन्। दुई महिनादेखि कोठाभाडा पनि तिर्न सकेकी छैनन्। धन्य! घरबेटीले व्यथा बुझिदिएका छन्। पसलवालाले उधारो रोकिदिएका छैनन्। तर, अब मकै बेचेर कमाएको पैसाले पहिला कोठा–भाडा र पसलको उधारो तिर्ने विचारमा छिन्। ‘उधारो नतिरे त पछि फेरि कुन मुख लिएर माग्न जानु?’ उनी भन्छिन्।
सुशीला आमा निकै फरासिली छिन्। मकै खान आउनेहरुसँग ख्याल ठट्टाका कुरा गरेर हँसाइरहन्छिन्। कतिपय ग्राहकसँग मकैबाटै सम्बन्ध जोडिएको छ। चिनजान राम्रो छ। उनका रमाइला गफ सुन्दा सुशीला आमालाई कुनै पीर छैन कि जस्तो लाग्छ। ‘पीर त कति छन् कति, पीर लिएर बसेर मात्र के हुन्छ?’ उनी भन्छिन्।
उनले छोराछोरीको कलेजको फिस तिर्न सकेकी छैनन्। उनलाई त्यही सकस छ। छोराछोरीको पढाइमा अवरोध आओस् भन्ने चाहँदिनन्। ‘आँफूले नपढेर दुख पाइयो, छोराछोरीलाई पढाउनुपर्छ। मजस्तो दुःखको जीवन नहोस्,’ उनी भन्छिन्।
कोरोनाको पहिलो र दोस्रो लहरमा उनलाई कसैले राहत दिएन। सरकारले राहत बाँड्छ भन्ने त सुनेकी हुन्, तर सरकार कता छ भन्ने पत्तै पाइनन्। जसोतसो परिवार चलाइन्।
उमेरले पाँच दशक नाघिसकेको छ। ‘श्रीमानको व्यवहार सम्झिँदा उहिल्यै मरौँ जस्तो लाग्थ्यो। अब त छोराछोरी ठूला भए। काममा लाग्ने बेला भयो। सुखका दिन आउलान् नि,’ उनी भन्छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।