ललितपुर- ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि पाँच अर्ब ५५ करोड ५५ लाख रुपैयाँको बजेट पारित गरेको छ।
महानगरपालिकाको छैटौँ नगरसभाले उक्त बजेट पारित गरेको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए।
उनका अनुसार विनियोजित बजेटमध्ये चालु खर्चतर्फ ९१ करोड ६१ लाख ५७ हजार र पुँजीगत खर्चतर्फ तीन अर्ब २४ करोड ३० लाख रुपैयाँ छुट्याएको छ।
पूर्वाधार र मूर्त तथा अमूर्त सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेको प्रमुख महर्जनले बताए। 'पूर्वाधार निर्माणसँगै मूर्त तथा अमूर्त सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेका छौँ,' उनले भने, 'विकास सूचकांकको आधारमा महानगरपालिकाले वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको छ।'
वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन
महानगरपालिकाले वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको छ। १३ वटा वडालाई सबैभन्दा बढी तीन करोड २५ लाख रुपैयाँ, आठ वटा वडालाई दुई करोड ५० लाख र सातवटा वडालाई दुई करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
महानगरपालिकाका प्रमुख महर्जनका अनुसार वडा नं १२, १६, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ मा तीन करोड २५ लाख, बडा नं २, ३, ४, ५, ९, १३, १५ र १७ मा दुई करोड ५० लाख तथा वडा नं १, ६, ७, ८, १०, ११ र १९ मा दुई करोड १५ लाख रुपैयाँका दरले बजेट विनियोजन भएको छ।
महानगरपालिका बनाउने क्रममा गाभिएका वडामा धेरै काम गर्न बाँकी रहेकाले बढी बजेट विनियोजन गरिएको प्रमुख महर्जनले बताए। यसैगरी महानगपालिकाले महानगरीय योजनाअन्तर्गत वडा नं ११ मा विद्युतीय शवदाह गृह निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। शवदाह गृह सञ्चालनका लागि शवदाह यन्त्र सहयोगस्वरुप प्राप्त गर्ने पनि उनले जानकारी दिए।
त्यसैगरी महानगरपालिकाले लगनखेलस्थित सप्तपातल र राजदलगण परिसरमा रहेको पोखरी निर्माणका लागि पाँच करोड रुपैयाँ बजेट छुट्याएको छ। वडा नं २१ मा रुद्रायणी र वडा नं १३ मा पञ्चेश्वर महादेव मन्दिर पुनर्निर्माण, वडा नं २४ मा आयुर्वेदिक अस्पताल र वडा नं २७ स्थित कृष्ण मन्दिर पुनर्निर्माणसमेत यस आवमा सुरु गरिने महानगरपालिकाको योजना छ।
महानगरपालिकाले चक्रपथमा स्मार्ट सडकबत्ती जडानका लागि सात करोड रुपैयाँ र कोभिड विशेष कार्यक्रमका लागि पाँच करोड रुपैयाँ छुट्याएको प्रमुख महर्जनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।