काठमाडौं- यस वर्षको मनसुनमा हालसम्म विभिन्न आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विभागले गरेको अध्ययनमा ती आयोजनामा बाढी पहिराका कारण क्षति पुगेको पाइएको हो।
विभागका अनुसार ती आयोजनाको क्षमता २०८ मेगावाट रहेको छ। विभागका अनुसार गत जेठ ३१ गते र असार १ गते लम्जुङको दोर्दी खोलामा आएको बाढी तथा पहिरोका कारण १२ मेगावाट क्षमताको दोर्दी एक जलविद्युत् आयोजनामा क्षति पुगेको हो।
यस्तै, २७ मेगावाट क्षमताको हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरिरहेको दोर्दी खोलामा समेत क्षति पुगेको छ। विभागका अनुसार २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी, ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’मा समेत क्षति पुगेको छ। सो नदी करिडोरमा निर्माण भइरहेका कूल चार आयोजनामा क्षति पुगेको विभागको अध्ययनमा देखिएको छ।
यस्तै, कलङ्गा खोला जलविद्युत् आयोजनामा समेत बाढीका कारण क्षति पुगेको छ। सो आयोजनामा समेत गत जेठ ३१ गते र असार १ गतेको बाढी पहिरोले क्षति पुर्याएको हो। सो आयोजनाको क्षमता १५.३३ मेगावाट छ।
विभागका अनुसार बाढी, पहिरोका कारण २४ मेगावाट क्षमताको मादमे खोला, ७.२७ मेगावाट क्षमताको याम्लिङ खोला र ४४ मेगावाट क्षमताको सुपर मादीमा समेत ठूलो क्षति पुगेको छ। सो आयोजनाको निर्माण सामग्री र उपकरण बाढीले बगाएको छ।
यस्तै, बाँधस्थल तथा कफर ड्याममा समेत क्षति पुगेको छ। बाढीको पानी निर्माणाधीन विद्युत् गृहमा पसेको थियो भने प्रसारण लाइनमा सामान्य क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले बाढी, पहिरोका कारण क्षति पुगेका आयोजनालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।