काठमाडौं- नेपालमा २०५२ सालदेखि १० वर्षसम्म सशस्त्र द्वन्द्व चलेको थियो। द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीले जनतालाई आफ्ना विचारसँग सहमत गराउन विभिन्न अभियान चलाएको थियो।
गोला बारुद र हातहतियारले युद्धमा लड्ने काम गरे पनि मानसिक रूपमा आफूतर्फ आकर्षित गराउने माओवादीको मुख्य हतियार थियो, ओपेरा। उनीहरू रातको समयमा राँको बालेर जनतालाई ओपेरा देखाउँथे। दमन, अत्याचारविरुद्ध बहादुर बनेर युद्धमा गएका, दुस्मनसँग लडेका र बहादुरिताका साथ सहिद भएका ओपेराले मानिसको रगत तताउँथ्यो। उनीहरू ओपेरा हेर्दाहेर्दै मर्न र मार्न कस्सिन्थे।
ओपेरा हेरेर नै त्यो समयमा कतिपय युवा माओवादीमा लागेका थिए। माओवादी शान्ति सम्झौतामा आउनेबित्तिकै यो शब्द हराउँदै गयो। केही नाटकघरमा ओपेरा देखाइए पनि त्यसले सबै जनमानसको दिमागमा माओवादीको ओपेराले जसरी ठाउँ ओगट्न सकेको छैन।
के हो ओपेरा?
डिजिटल युगमा हुर्किरहेका मानिसलाई ओपेरा भनेको इन्टरनेट चलाउने एक प्रकारको एप हो भन्ने लाग्ला। त्यस्तै विभिन्न हलिउड/बलिउड फिल्म हेरेर हुर्केका मानिसलाई ओपेरा भनेको अनौठो आवाज निकालेर गीत गाउने कला हो कि भन्ने पनि पर्नसक्छ। किनभने, ती फिल्महरूमा त्यस्तै अनौठा आवाज सुनेर निदाएका या रिल्याक्स गरेका दृश्य देख्न सकिन्छ। अमिर खानले बनाएको चर्चित फिल्म ‘थ्री इडियट्स’ हेर्नुभएको छ भने त्यहाँ पनि कलेजका निर्देशक डाक्टर बिरू सहस्र बुद्धे अर्थात् भाइरस, दारी काट्ने बेलामा ओपेरा सुनेर आनन्द लिएको दृश्य देख्न सकिन्छ।
तर, ओपेरा इन्टरनेट चलाउने एप या यसरी सुत्ने बेलामा सुन्ने अनौठो संगीत मात्रै हैन, यो सांगीतिक नाटक हो। सशस्त्र द्वन्द्वताका माओवादीले गाउँ-गाउँमा गीत गाउँदै नाच्दै देखाउने नाटक ओपेराकै एउटा रुप थियो।
४०० वर्षअघि इटालीबाट ओपेरा सुरू भएको इतिहास छ। समूहमा गीत गाउँदै, नाच्दै र अभिनय गर्दै कथा सुनाउने ओपेराको तरिका भएकाले यसलाई नाटक देखाउने सबैभन्दा पूर्ण माध्यम पनि मानिन्छ। ओपेरा गर्ने कलाकार नाच्न, गीत गाउन र अभिनय गर्न सक्षम हुन्छन्।
विश्वमा चर्चा कमाएका सेन्ड्रिला, ह्यासल एण्ड ग्रेटल, रोमियो एण्ड जुलियट जस्ता नाटकमा पनि ओपेरा देखाइएको छ। यदि, कुनै लिखित नाटकलाई थिएटरमा संवादमार्फत् अभिनय मात्रै गरिएको छ भने त्यो मञ्चन भएको नाटक मात्रै हो। यसलाई ओपेरा भन्न मिल्दैन। तर, यदि कुनै लिखित नाटकलाई थियटर या कुनै ठाउँमा संगीतबद्ध गरेर त्यहीअनुसार नाच्दै अभिनय गरिएको छ भने त्यो ओपेरा हुन्छ।
अरू मनोरञ्जनभन्दा ओपेरा किन फरक?
इटालीबाट ओपेराको सुरू भयो भने चर्चा पनि त्यही देशबाटै कमायो। नेपालका एकल हलमा कुनै रोचक सिन आएको बेलामा हुने हल्ला र बजाइने सिठ्ठीजस्तै इटालीमा ओपेरा हेर्दा ‘ब्राभो’ भनेर चिच्याइन्थ्यो। ब्राभो शब्द अहिले पनि यस्तै उत्साहजनक या बहादुरीपूर्ण कुरामा भनिन्छ।
दिन प्रतिदिन यसको चर्चा यति धेरै बढ्दै गयो कि, पूरै युरोपभर मानिसको मुखमा ओपेराको गुनगान मात्रै सुनिन थाल्यो। मानिसको आकर्षण बढ्न थालेपछि ओपेरा फ्रान्स, जर्मनी लगायतका देशमा पनि फैलन थाल्यो। ती देशमा धनिमानी मानिसको मनोरञ्जनका लागि ओपेरा गतिलो माध्यम बन्न पुग्यो।
विस्तारै ओपेरा विश्वभर छायो। तर, यसको फैलावटसँगै परिवर्तन पनि आउन थाल्यो। ओपेरा अब इटालीको जस्तो मात्रै रहेन। इटालीमा अनौठो आवाज निकालेर, त्यसमा शास्त्रीय संगीत राखेर ओपेरा गाइन्थ्यो, पहिरन पनि परम्परागत गरिन्थ्यो। तर, यसको आकार बढेसँगै ओपेराले हरेक देशमा भएको कला संकृतिलाई जोड्न थाल्यो। उदाहरणका लागि नेपालमा माओवादीले विभिन्न लोकभाकामा जनवदी गीत गाउँदै, नाच्दै र त्यसैमा अभिनय गर्दै आफ्ना विचार फैलाउन थाल्यो। विचार प्रवाह गर्न र मानसिकता परिवर्तन गर्न माओवादीले त्यो समयमा ओपेराको सहारा लियो।
प्रविधिको विकास भइसकेपछि भने ओपेरा गर्दा रेकर्ड हुनथाल्यो। मानिसका निकै सुन्दर र कलात्मक आवाजमा ओपेरा डिजिटाइज्ड भयो। प्रत्यक्ष दर्शकको अगाडि देखाइने नाटकको आवाज अडियोमा मात्रै रेकर्ड भएपछि त्यसलाई सांगीतिक थेरापीको रूपमासमेत प्रयोग गर्न थालियो। त्यसैले अहिले ओपेरा भन्नेबित्तिकै मिठो निन्द्रा लगाउने संगीत बन्न पुगेको हो।
तर, अहिले भने इन्टरनेटका कारण ओपेरा हातहातमा आइसकेको छ। कुनै म्युजिक भिडियो हेर्ने हो भने त्यहाँसमेत ओपेराको स्वाद भेटिन्छ। तर, म्युजिक भिडियोमा भेटिएको स्वाद वास्तविक ओपेराको भने हैन।
नेपालमा यति धेरै कला, संस्कृति छन्। अहिले चलचित्र विकास बोर्डले मौलिक कथामा फिल्म बनाउने भन्दै स्टोरी बैंकको अवधारणा ल्याएको छ। गीत गाउँदै, नाच्दै अभिनय गर्ने कतिपय नेपाली संस्कृति नै छन्। ती पनि विस्तारै लोप हुँदै गइरहेको विभिन्न अध्ययनले देखाएको छ। लोक गीतसम्बन्धी एक कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले पनि लोप हुँदै गएका संगीत र संस्कृतिको बारेमा बहस हुन जरुरी रहेको बताएका थिए।
(अनलाइनमा उपलब्ध विभिन्न सन्दर्भ सामग्रीको आधारमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।