बझाङ- बझाङको बुङ्गल नगरपालिका-९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट शंकास्पद रुपमा हराएको छ।
सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको ३९ लाख रुपैयाँ मंगलबार राति 'चोरी भएको' बताइएको छ। सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आएको र पैसा पनि त्यहीँबाट चोरी भएको प्रहरीले जनाएको छ।
चोरी भएको भनिए पनि घटनाको प्रकृति हेर्दा कोठामा तोडफोडलगायत कुनै पनि क्रियाकलाप नभएको पाइएको छ। पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुँदा घटना शंकास्पद देखिएको स्थानीयवासी खड्क बोहराले बताए।
वडा सचिव महतोसहित घरमालिकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अस्थायी प्रहरी चौकी पुतलीलेक र इलाका प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीको बताए।
उक्त घरमा सचिवलगायत दुई जना कोठा भाडामा बस्ने गरेको र घरबेटी अर्को घरमा बस्ने गरेको बताइएको छ। करिब २१ लाख ९१ हजार वितरण गरिसकिएको र ३९ लाख वितरण गर्नका लागि राखिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।