पर्वत- पर्वत सदरमुकाम कुश्माबजारमा पाँच दिनपछि खानेपानीको आंशिक आपूर्ति भएको छ। पहिरो र बाढीले क्षतविक्षत भएको क्यादीखोलाको मुल मर्मतपछि उपभोक्ताको धारामा पानी आउन थालेको हो।
पातीखोलाको पाइपलाइन अझै सञ्चालन हुनसकेको छैन। मङ्गलबारको बाढी र पहिरोले क्यादीखोला र पातीखोलाको पाइप लाइन पुरिँदा कुश्मामा पानी आपूर्ति रोकिएको थियो।
क्यादीखोलाको पानी आएपछि उपभोक्ताको आधा माग मात्रै पूरा भएको छ। शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठले पातीखोलाको पाइपलाइन मर्मतको काम पनि सुरु भएको बताए। पाइपलाइनमा क्षति भएपछि कुश्मा नगरपालिका र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खर्चमा पाइप परिवर्तन गरेर खानेपानीको आपूर्ति सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले बताए।
क्यादीखोलासहित गोदाम र खुर्कोटको बर्खेमुलबाट पनि पानी ल्याइएको अध्यक्ष श्रेष्ठले बताए। कुश्मा-८ चुवास्थित सुन्दरे खोलामा आएको बाढीले पातीखोलाको पाइपलाइन क्षतविक्षत बनाएपछि उक्त लाइन मर्मत गर्न केही दिन लाग्ने अध्यक्ष श्रेष्ठले बताए।
संस्थाका प्रबन्धक राजेन्द्र रोकाका अनुसार पानी आपूर्तिका लागि राखिएका चार ठूला ट्याङ्कीमा क्यादीखोला र पातीखोला दुवैतर्फको मुहानबाट दैनिक २६ लाख लिटर पानी आउने गरेको थियो। त्यसमध्येको करिब २० लाख लिटर खपत हुने गरेको छ। बजारमा संस्थामार्फत् दुई हजार ५६१ वटा धारा जडान गरिएका छन्। पानी आपूर्ति नहुँदा उपभोक्ताले आकाशेपानी जोहो गरेर पिउने गरेका थिए। कतिपयले नजिकैका पँधेरामा पुगेर पानीको खाँचो टार्दै आएका थिए। शिवालय खानेपानी उपभोक्ता संस्थाले उमालेर पानी पिउन पनि उपभोक्तालाई अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।