बैतडी– बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन्। गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले बताए।
गाउँपालिका कार्यालयमा नियुक्तिपत्रलिन हिँडेका भट्ट आइतबार अपराह्न ४ः३० बजे सिगास–२ कुर्चेनेटा भन्ने स्थानमा मृत भेटिएका हुन्। ‘नयाँ नियुक्ति लिन गाउँपालिका जाँदै गर्दा पेट दुख्यो भनेर एक्कासि ढलेको भन्ने बुझिएको छ,’ उनले बताए। गाउँपालिका केन्द्र गर्जे जाँदै गरेका भट्ट अस्पताल जान्छु भनी बाटोबाटै फर्किएको र फर्केको ठाउँबाट ५ सय मिटर वर आउँदा एक्कासि ढलेको बताइएको छ।
भट्टको मृत्युको कारण भने खुल्न सकेको छैन। शव परीक्षणपछि मात्र कारण खुल्ने शाहीले बताए। मृतक भट्टको शव आज (सोमबार) परीक्षण गरिने इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।