कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजीक्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न खोजेको बताएका छन्।
प्रदेश नीति तथा योजना आयोगले मौद्रिक नीतिका बारेमा आइतबार साँझ गरेको छलफलमा मुख्यमन्त्री पोखरेलले प्रदेशको वस्तुस्थितिअनुसारको मौद्रिक नीति आओस् भनेर व्यवसायीहरूसँग छलफल गरिएको बताए।
नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढेको बताउँदै उनले सरकारको मापदण्डमा रहेर निजीक्षेत्रको सहयोगमा सरकार खोप किन्न तयार रहेको र यसका लागि सम्पर्क स्थापित गर्न व्यवसायीको सहयोग जरुरी रहेको उल्लेख गरे।
कार्यक्रममा बिना विभागीयमन्त्री हरिशरण आचार्यले राज्य र निजीक्षेत्रको सम्बन्ध प्रष्ट पारेर अघि बढेमा मात्र समृद्धि सम्भव हुने बताए। नीति तथा योजना आयोग उपाध्यक्ष डा रघुराज काफ्लेले संघीय प्रणालीमा आएपछि पनि मौद्रिक नीतिको ढाँचामा परिवर्तन हुन नसकेको बताए। रोजगारी बढाउन, आर्थिक सूचक माथि उठाउन सरकारले सुझाव संकलन गरी राष्ट्र बैंकमा आधिकारिक रूपमा लेखी पठाउने उनले बताए।
नेपाल राष्ट्र बैंक पोखराका निर्देशक ईश्वरी भट्टराईले प्रदेशअनुसार ब्याजदर निर्धारण नसकिए पनि प्राथमिकताअनुसार काम गर्न सकिने बताए। कार्यक्रममा सहभागी व्यवसायी तथा विज्ञहरूले आगामी आर्थिक वर्षको बजेटको दुई तिहाइ हिस्सा आन्तरिक राजस्व र करबाट उठाउने लक्ष्य राख्ने सरकारले व्यवसाय रक्षाका लागि केही पहल नगर्नु दुःखदायी रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।