उदयपुर- लगातारको वर्षा भएपछि उदयपुरको विभिन्न पालिकाका ५०० सयभन्दा बढी घर डुबानमा परेका छन्।
बेलका नगरपालिकामा स्थानीय खोलाको बाढी र वर्षाको पानी निकास नहुँदा तपेस्वरी, आम्बासी र भागलपुरका पाँच सयभन्दा बढी घर डुबानमा परेको छ। बाढीपीडितको उद्धारका लागि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ।
तपेस्वरीको बगाहा र आम्बासीका खहरे खोलामा गएराति आएको बाढी गाउँबस्तीमा प्रवेश गर्दा अहिले सो क्षेत्रमा तीन फिटसम्म पानी जमेको तपेस्वरीका जसबहादुर श्रेष्ठले बताए। त्यस्तै स्थानीयवासी राजकुमार भुजेलका अनुसार ती खोलामा आएको बाढीले तपेस्वरी क्षेत्र डुबानमा पर्नुका साथै जग्गा कटान गर्न थालेको छ। स्थानीय खोलाहरुमा आएको बाढी गाउँघरमा प्रवेश गर्न थालेपछि स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको र बाढीपीडितको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोक्सीलाका प्रमुख तेजबहादुर कटुवालले बताए।
निरन्तर वर्षाले बेलकाको गिदेरी खोलामा आएको बाढीका कारण निर्माण सम्पन्न हुन लागेको गिदेरी पुलमासमेत क्षति पुगेको छ। त्यस्तै त्रियुगा नगरपालिका-११ गाइघाटस्थित बरुवा खोलामा आएको बाढीले कच्ची बाँध भत्किनसक्ने र गाइघाट बजारसमेत डुबानमा पर्नसक्ने जोखिम बढेको त्रियुगा नगरपालिका-११ ढिम्कीका शिव कार्कीले बताए।
बाढीले बगाउँदा ६५ वर्षीय वृद्धको मृत्यु
उदयपुरको चौदण्डीगढी नगरपालिकाको सातधारेस्थित हवार खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बेल्टार मदनचौकका ६५ वर्षीय गुमसेर राई रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ। अर्का गाउँ जानका लागि खोला तर्ने क्रममा उनलाई शनिबार बिहान १० बजेतिर बाढीले बगाएको थियो।
बाढीले बगाएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी बेल्टारबाट खटिएको प्रहरी र स्थानीयवासीले उनलाई खोजी गरिएको थियो। खोजीका क्रममा बगाएको स्थानभन्दा २०० मिटर तल उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
पोस्टमार्टमका लागि शवलाई बेल्टार अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।