काठमाडौं- टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ। टोखाले असार ९ गते नवौँ नगरसभाको पहिलो बैठकमा आव २०७८/७९ का लागि प्रस्तुत गरेको एक अर्ब ८९ करोड ९४ लाख ७६ हजार रुपैयाँको बजेट शुक्रबारको दोस्रो बैठकमार्फत् पास गरेको हो।
नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले नगरसभाको दोस्रो बैठकमा पेस गरेको उक्त बजेट नगरप्रमुख प्रकाश अधिकारीले पारित गर्न नगरसभा समक्ष पेस गरेका थिए। उक्त बजेट बहुमत सदस्यबाट पारित भएको हो।
टोखाले आव २०७८/७९ को बजेटमा स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई उच्च प्राथमिकतामा राखेको छ। यसबाहेक सामाजिक विकास, पर्यटन प्रवर्द्धन, सांस्कृतिक सम्पदा संरक्षण, कृषिको आधुनिकीकरण, खेलकुदलाई पनि बजेटले प्राथमितामा राखेको छ। नगरपालिकाले ऐतिहासिक, साँस्कृतिक, पर्यटकीय समृद्ध टोखा नगर भन्ने मूल नाराका साथ समग्र नगरको विकास र समृद्धिका लागि कार्य गरिरहेको छ।
नगरसभाले विनियोजन विधेयक, आर्थिक विधेयक, संगठन संरचना, न्यायिक समितिको प्रतिवेदन लगायत पारित गरेको नगरप्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए। काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन्।
बजेटसभा नेपाली कांग्रेसका जनप्रतिनिधीहरुले भने बहिष्कार गरेका छन्। बजेट टोखाको समग्र विकासका लागि लक्षित नभइ आगामी निर्वाचनलाई प्रभाव पार्नेगरी आएको भन्दै उनीहरुले बहिष्कार गरेका हुन्।
कोरोना महामारीले पीडामा रहेका व्यवसायीलाई करमा ५० प्रतिशत सहुलियत दिनुपर्ने, कोरोना खोप व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने, वडास्तरीय विनियोजित बजेट बढाउनुपर्नेलगायतका आफ्ना मागलाई सम्बोधन नगरेपछि नगरसभा बहिष्कार गरिएको कांग्रेसको तर्फबाट टोखा-११ मा निर्वाचित वडाध्यक्ष उत्तम अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।