प्रतीकात्मक तस्वीर
नवलपुर– पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो।
बिहीबार साँझ मोटरसाइकल तथा साना सवारी साधन चल्न मिल्ने गरी निर्माण गरिएको नयाँ डाइभर्सनमा ट्र्याक्टर फसेपछि राजमार्ग पुनः अवरुद्ध बनेको छ। गैँडाकोट–१० मा रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक वीरभद्र नाथले फसेको ट्र्याक्टर निकालेर डाइभर्सन मर्मतको काम भइरहेको जानकारी दिए।
जेसिबीको सहायताले एकतर्फी भए पनि सवारी साधन सञ्चालन गर्न मिल्ने गरी काम गरिरहेको नाथकोे भनाइ छ। पूर्वपश्चिम राजमार्गको यस खण्डमा आज बिहानसम्म पनि सवारी साधन सञ्चालन हुन नसक्दा सडकमा पूर्व र पश्चिम जाने सवारी साधनको करिब चार किलोमिटर भन्दा लामो लाइन छ। राजमार्ग विस्तारका लागि साना पुल हटाएर नयाँ मोटरेबल पुल निर्माण गर्ने क्रममा सवारी साधन सञ्चालनका लागि बनाइएको डाइभर्सन बाढीले बगाएको थियो।
गैँडाकोटको थुम्सी क्षेत्रमा निर्माण गरिएको २३ स्मृति पुलसहित विभिन्न चार स्थानको डाइभर्सन बाढीले बगाउँदा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो। लामो समयसम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा पनि सवारी साधन सञ्चालन गराउने गरी प्रभावकारी ढङ्गले काम हुन नसकेको भन्दै चालकहरुले गुनासो गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।