वीरगञ्ज– बंगलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ। सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो।
जिटुजी सम्झौता अनुसार बंगलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ। तीमध्ये बाँकी रहेको पाँच हजार मेट्रिक टन युरिया मल आउने क्रममा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रवन्धक गोरखनाथ केसीले बताए। बंगलादेशबाट उपलब्ध हुने ५० हजार मेट्रिकटन बाहेक थप दुई हजार मेट्रिकटन युरिया मल नेपाल आउने भएको छ।
सम्झौता अनुसार हालसम्म नेपाल सरकारले सबै मल प्राप्त गरी सक्नुपर्नेमा अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन केही ढिलाई भएको प्रवन्धक केसीले बताए।
सम्झौता अनुसारको बाँकी पाँच र थप दुई गरी कूल सात हजार मेट्रिकटन मल एक हप्ताभित्रै लिमिटेडको प्रादेशिक कार्यालयमा आइपुग्ने बताइएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा अहिले युरिया मल एक हजार ७ सय मेट्रिकटन, डिएपी ७६० मेट्रिकटन र पोटास ८२० मेट्रिकटन मौज्दात अवस्थामा रहेको छ। मौज्दात रहेको उक्त मलले पहिलो चरणको धान खेतीका लागि पर्याप्त हुने देखिन्छ।
पर्सा जिल्लास्थित १ सय ३१ थोक विक्रेतामार्फत् सो मल किसानसम्म पुग्ने गरिन्छ। सो कार्यालयले थोक विक्रेतालाई एक पटकमा एक सय ३० बोरासम्म मल दिने गरेको छ। विक्रेताहरुले स्थानीय तहले तोकेको मूल्यमा किसानहरुलाई मल बिक्री गर्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।