म्याग्दी– मंगला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप सडकबाट खस्दा थप छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
दुर्घटनामा परी मंगला–१ प्ूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए। ‘उनीहरुलाई बेनी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए,’ राईले भने, ‘ घाइते छ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ।’ दुर्घटनाका घाइते र मृतक सबै मंगला गाउँपालिका–१ का हुन्।
घाइते हुनेमा १९ वर्षीय अनिल रसाइली, २५ वर्षीय सुदन आचार्य, २६ वर्षीया एञ्जिता भण्डारी, आठ वर्षीया अदिना नेपाली, ३५ वर्षीया गीता खत्री र २३ वर्षीया अमृता रसाइली रहेको प्रहरीले जनाएको छ।
जिप सडकदेखि करिब ५०० मिटर तल खोल्सामा खसेको थियो। घाइतेको स्थानीयवासी र प्रहरीले उद्धार गरेर बेनी पठाएका थिए।
दुर्घटनाबारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक विक्रमराज गुरुङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।