सप्तरी– बालिका अपहरणका आरोपीलाई अदालतले कारागार चलान गरेको छ। सप्तरी जिल्ला अदालतका न्यायाधीश ईश्वरमणि ओझाको इजलासले सप्तरीको राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा बस्ने ३५ वर्षीय नवीन देवलाई पुर्पक्षका लागि मंगलबार राजविराज कारागार चलान गरेको हो।
अपहरणको खबरलगत्तै सक्रिय बनेको सप्तरी प्रहरीले १५ मिनेटमै आरोपीलाई पक्राउ गरी अपहरित बालिकाको सकुशल उद्धार गरेको थियो। राजविराजबाट अपहरित १४ वर्षीया बालिकालाई रुपनी पुर्याउनुअगावै इलाका प्रहरी कार्यालय रुपनीले आरोपीलाई पक्राउ गरी बालिकालाई सकुशल उद्धार गरेको थियो।
राजविराजस्थित घरबाट आरोपीले जेठ २० गते ललाइफकाई बुवाको साथी भनी झुक्याएर छलकपट गरी मोटरसाइकलमा लिएर गएको पीडितले बयान दिएकी छन्। राजविराजबाट नौ किलोमिटर उत्तर रुपनी नजिक पुगेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेपछि मात्रै बालिकाले अपरहणमा परेको जानकारी पाएकी थिइन्।
पीडित बालिकाका अनुसार आमाबुवा औषधोपचारका लागि घरबाहिर निक्लिएको मौका छोपी प्रदेश२–०३–०१३प ४६८२ नंको अपाची मोटरसाइकलमा आएका आरोपीले बुवाको साथी भन्दै लगेका थिए। आगनमा निकैबेर वृद्ध हजुरबुबा, हजुरआमासँग कुरा गरेका आरोपितले आफ्नो बुबासँग फोन गरेजस्तो नक्कल गरी विश्वास दिलाएर झुक्याई लगेको बालिकाले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।