काठमाडौं– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले गत बिहीबार राति ट्वीटरमा लेखे, ‘नेपाली कांग्रेसमा आ–आफ्नो पद सुनिश्चित गरेर मात्र समूह निर्माण हुन सक्दैन। अहिलेको राष्ट्रिय आवश्यकता नबुझ्ने र आफ्नो मात्र चिन्ता गर्ने व्यक्ति कांग्रेसको मुख्य नेता हुन सक्दैन। देश भड्खालोमा जाकिएको बेला केको पद बाँडफाँट? आफू केही नबनेर पनि देश बनाउँछु भन्ने को–को हो? जनता खोज्दैछन्।’
आसन्न १४औं महाधिवेशनको माहोलले छोपिसकेको कांग्रेसमा नेतृत्वको दाबी गर्ने होडबाजी चलिरहेको छ। नेतृत्वका आकांक्षीहरुले केही दिनयता अर्को समूहका, अर्को पुस्ताका अनि सम्भव भएजति गुट र उपगुटका नेतालाई समेटेर प्यानल निर्माण गर्ने प्रयत्न गरिरहेका छन्। यही बेला आएको घिमिरेको ट्वीट केही भिन्न तर अर्थपूर्ण छ। त्यसमा कांग्रेसभित्र भइरहेका अहिलेका सवैजसो प्रयत्न र घटनाक्रमप्रति अरुचि प्रस्तुत भएको छ। उनलाई यो मनोदशामा कुन कारणले ल्याइपुर्यायो?
मुलुकको पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसको पछिल्लो पुस्ताका खासै चर्चामा आउन नचाहने र समकालीनहरुभन्दा फरकखाले राजनीति गर्न रुचाउने नेताका रुपमा चिनिन्छन् घिमिरे। पछिल्लो समय लोकरिझ्याइँले लपेटिसकेको राजनीतिमा उनी ‘फिट’ नहुने असहज पात्र झैं लाग्छन् बेलाबेला। उनको प्रष्ट र खरो बोली धेरैपटक आफनै राजनीतिक ‘करिअर’ मा प्रत्युत्पादक बनेको पनि छ। तर, उनी लाभहानीको हिसाबकिताब गरेर मौन रहन नरुचाउनेहरुमा पर्छन्। भर्खरै महाधिवेशनको सरगर्मी शुरु भएको कांग्रेसमा उनी फेरि त्यसैगरी मुखर भएका छन्। र, उनी फेरि सम्भवतः अहिलेको कांग्रेसवृत्तमा ‘फिट’ नहुने कुरामा बहस चलाउन जुटिरहेका छन्। यस्तो अग्रसरताबारे खुलाउँदै घिमिरेले नेपाल लाइभसँग भने, ‘कांग्रेसमा अहिले जे भइरहेको छ, त्यो बिल्कुल ठीक छैन। त्यसकारण एउटा सन्देश जाओस् भनेर मैले बोलेको हुँ। अब बोलिरहन्छु र बोलेअनुसार गर्छु पनि।’
नयाँ कांग्रेस अर्थात् ‘नयाँ फ्रन्ट’
आउँदो भदौमा हुने तय भएको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसभित्र यसअघि नदेखिएका कैयौं परिदृष्य देखापरेका छन्। कांग्रेस राजनीति त गुटमै आधारित हुने प्रष्ट तस्वीर देखिन्छ, तर हिजोका गुट र उपगुटमा ठूलो कम्पन आएको छ। पूराना गुट भत्किने, नयाँ गुट बन्ने, पुराना–पुराना र नयाँ–पुराना उपगुट ‘मर्ज’ हुने क्रम पनि रफ्तारमा अघि बढ्ने देखिन्छ, पछिल्ला केही दिनका घटनाक्रम हेर्दा। परम्परागत गुटमै ‘विद्रोह’ हुन थालेको छ। ध्रुवीकरणका नयाँ आयामहरु देखिन थालेका छन्।
जस्तो कि, वर्तमान कांग्रेस संस्थापनका मुख्य आधार मानिने उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवार बन्ने घोषणा गरेका छन्। र, उनको यस्तो घोषणासँगै फेरि नेतृत्वमा दाबी गरेका वर्तमान सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र नयाँ ‘समीकरण’को प्रयत्न अघि बढाएका छन्। निधि आफैंले पनि प्रकाशमान सिंह, शशांक कोइरालालगायतसँग मोर्चाबन्दीको प्रयत्न गरिरहेका छन्। अर्कोतर्फ, ‘एकपल्ट सभापति बनाउन’ सहयोग मागिरहेका रामचन्द्र पौडेललाई सघाउँदै आएका डा. शेखर कोइरालाले यसअघि नै आफू सभापतिको उम्मेदवार हुने घोषणा गरिसकेका छन्। आकांक्षी धेरै देखिए पनि कांग्रेसको अबको नेतृत्वका प्रबल दाबेदार सम्भवतः उनीहरु नै हुनेछन्। र, उनीहरुले दोस्रो पुस्ता मात्र होइन, कांग्रेसको तेस्रो पुस्तालाई समेत आफ्नो समूहमा तान्ने जोडबल तीब्र पारेका छन्।
१४ औं महाधिवेशनले नेपाली कांग्रेसको बागडोर नयाँ पुस्तामा सर्ने सम्भावना भने बलियो देखिन थालेको छ। किनभने करिव १० लाख क्रियाशिल सदस्यमा २५ देखि ४० वर्ष उमेर समूहकाको उल्लेख्य सहभागिता छ। सदस्यतामा युवाको आकर्षण देखिएकाले वडादेखि नै नयाँ पुस्ताकाहरु निर्वाचित भएर आउने सम्भावना बढेको कांग्रेसलाई नजिकबाट नियाल्ने राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेको विश्लेषण छ।
त्यसैमाथि पहिलो पुस्ताका साथै दोस्रो पुस्ताका सभापतिका उम्मेदवारहरुले तेस्रो पुस्ता वा युवापुस्ता वा नयाँ पुस्ताको समर्थन नलिइ कांग्रेस सभापति हुन सक्दिनँ भन्ने महशुस गरेका उनले बुझेका छन्। वाग्ले भन्छन्, ‘उनीहरुको समर्थनप्राप्त भएन भने नेतृत्वमा चयन भए पनि सफल हुन सक्दिनँ भन्ने उनीहरुले बुझेका छन्। त्यसैले यो पुस्ताको सहयोग लिएर म निर्वाचित पनि हुनुपर्छ र पार्टी पनि चलाउनुपर्छ भन्ने उनीहरुको बुझाइ छ। ’
त्यही तानातानमा घिमिरे पनि परेका छन्। त्यसैले उनले सार्वजनिक रुपमै यस्तो टिप्पणी गरेका हुन्। ‘कतिपयले आफै फोन गरेर आउनुपर्यो, हाम्रो समूहमा लाग्नुपर्यो भन्नुभो, कतिपयले अरुलाई फोन गर्न लगाएर भए पनि कुन पद लिने आफै भन्नुस् तर हाम्रो समूहमा आउनुस् भन्न थाल्नुभो, रातबिरात त्यसैगरी फोन आउन थालेपछि मलाई दिक्दार लाग्यो’, घिमिरेले भने, ‘देशको यस्तो अवस्था छ, लोकतन्त्रको यो हालत छ। यस्तो बेला हाम्रो जिम्मेवारी के, हाम्रो दायित्व के? देश यस्तो अप्ठेरोमा रहेका बेला आफ्नो पदका लागिमात्र यस्ता कुरा गर्नेहरु नेता हुन उपयुक्त पात्र होइनन् भन्ने सन्देश जाओस् भनेर म बोलेको हुँ।’
उनले कांग्रेसको पंक्ति नै गम्भीर हुनुपर्ने अवस्था आएको टिप्पणी गरे। सरकारदेखि राजनीतिक पार्टीहरुले जुन मानक स्थापित गरेका छन्, त्यो जनअपेक्षाविपरीत रहेको उल्लेख गर्दै उनले भने, ‘पञ्चायत र राजाका कुरा छाडिदिऔं, बहुदल आएपछि झन् विकृति आयो, गणतन्त्रमा त्यो ह्वात्तै बढ्यो।’
कांग्रेसमा घिमिरेजस्ता पछिल्लो पुस्ताका केही नेता छन् जसलाई अहिले कांग्रेसभित्र भइरहेका गतिविधि निकै परम्परागत लाग्छन्। ‘हाम्रो पार्टीमा अहिले जसरी सोचिँदैछ, स्थिति त्यहाँ छैन, स्थिति निकै संवेदनशील भइसकेको छ। त्यसलाई सामना गर्न अहिलेसम्मको राजनीतिको परिभाषा अनि हाम्रो व्यवहारिक राजनीतिको परिभाषा बदल्नुपर्ने बेला भइसकेको छ’, उनले भने, ‘लोकतन्त्रका चरित्रलाई मात्रै पनि हामीले अनुसरण गर्न सक्यौं भने त्यसले आशा जगाउँछ, राजनीतिप्रतिको नकारात्मक धारणा र वितृष्णा कम गराउँछ।’
यस्तो आवाज उठाइरहेका घिमिरे दुई कार्यकाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनिसकेका छन्। र, अब तेस्रो कार्यकाल सदस्यमै नदोहोरिने घोषणा पनि उनले गरेका छन्। ‘सके पदाधिकारी बन्ने हो, नभए बाहिरबाट सपोर्ट गर्ने हो। म तेस्रोपटक केन्द्रीय सदस्य किन उठ्ने? उठ्दिनँ’, उनले भने, ‘पार्टीलाई सुधार्ने हो भने हामीले आफ्नो लागि पद सुरक्षित गर्नेमात्र होइन, छोड्न पनि सक्नुपर्यो।’
उनले कांग्रेसको नयाँ पुस्ताले नयाँ शिराबाट सोच्ने बेला आएको र समीकरण पनि नयाँ ढंगले गर्नुपर्ने बताए। ‘पार्टीलाई ड्राइभ गर्ने ठाउँमा पुग्ने प्रयास गर्नु जरुरी छ तर, त्यसका लागि गर्ने प्रयास पनि त राम्रो हुनुपर्यो, राम्रो गर्छु भन्नेको कर्म पनि त राम्रो हुनुपर्यो’, घिमिरेले भने, ‘बुढाहरुले त जे गरे गरे, हामी त फरक दिशातर्फ उन्मुख हुनुपर्यो नि, नयाँपन दिनेगरी युवाहरुको नयाँ फ्रन्ट खोल्नुपर्ने हो कि? निरन्तरतालाई क्रमभंग गर्ने तरिकाले सोच्ने हो कि?’
असफल विगत
घिमिरेलगायतका पछिल्लो पुस्ताका नेताले उठाइरहेका कुरा र अहिलेको कांग्रेस हिँडिरहेको बाटोमा तादम्य देखिँदैन। त्यहीकारण पनि उनीहरुले उठाउने विषयलाई ‘सुन्दा कर्णप्रिय, आदर्शवादी, भइदिए हुन्थ्यो भन्ने लाग्नेखालका तर, सम्भव नभएका कुरा’ भनेर पनि कटाक्ष गर्ने गरिन्छ। ‘गुरुहरुले उठाएका कुरा साँच्चिकै राम्रा छन्, कांग्रेस त्यस्तै भइदिए हुन्थ्यो भन्ने लाग्छ तर, कांग्रेस जस्तो पार्टी सिस्टममा चलेको छ, पार्टीमा लिडरसिप आउने जस्तो सिस्टम छ, यत्रो ट्रेडिसनल र कन्भेन्सनल परिपार्टी भएको पार्टीमा आउने लिडरसिप पनि कन्भेन्सनल नै हो’, राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले भने।
कांग्रेसमा ‘नयाँ फ्रन्ट’को बहस नयाँ नभएको र त्यो असफल सावित भइसकेको आचार्यको बुझाई छ। ‘यसको प्रयोग कांग्रेसमा नभएको होइन, सभापतिमा नरहरि आचार्यदेखि भीमबहादुर तामाङसम्मको प्रयोग भयो, महामन्त्रीमा गगन थापाको प्रयोग भयो, तर उनीहरुको के हालत भो?’, आचार्यले भने, ‘नयाँ आइडिया र विचार त कांग्रेसपंक्तिले ग्रहण गर्छ, तर नेतृत्वमा भने परम्परागत व्यक्तिहरु नै छान्दो रहेछ। नरहरि, भीमबहादुर र गगनको प्रयोगले त्यही देखाउँछ। यसको मतलब कांग्रेसमा र्याडिकल रिफर्म सम्भव देखिन्न।’
पार्टीको महाधिवेशन र निर्वाचनमा गुटबन्दी हुने, गुट नभएमा कसैले पनि चुनाव जित्न नसक्ने अवस्था कांग्रेसमा अहिले पनि रहेको र भोलि पनि रहने आचार्य बताउँछन्। ‘कांग्रेस राजनीतिको यो रियालिटीलाई बुझेर अगाडि बढ्ने हो, ३०–४० वर्षदेखि नेतृत्वमा रहेकाले छाड्दैनन्, तिनलाई छोडाउन पनि सकिन्न भने त्यसभित्रै अधिकतम उपयुक्त विकल्प खोज्ने हो’, उनले भने, ‘या त नौ लाख क्रियाशिल सदस्य नै प्रत्यक्ष मतदान गरेर नेतृत्व चयन गर्ने प्रणाली विकास गर्नुपर्यो, होइन भने तलैदेखि गुटगत अभ्यास गरेर आउने प्रतिनिधिको विचार स्वतन्त्र हुँदैन, ती स्वतन्त्र नभएसम्म नेतृत्व चयनको यो ट्रेन्ड पनि फेरिन्न।’
के आचार्यले भने झैं कांग्रेसमा नयाँ फ्रन्टको उदय सम्भव छैन? विगतमा भइसकेको यस्तो अभ्यास असफल भए पनि यसपालि भने तस्वीर प्रष्ट छैन। तर, यसपालिका प्रारम्भिक परिदृष्य र रुझानहरुले एउटा संकेत भने गरिरहेका छन्– नयाँ पुस्तालाई साथ नलिएसम्म कांग्रेसका कुनै पनि गुटलाई नेतृत्व हत्याउन भने सजिलो हुनेछैन।
आशातीत आगत
विगतको असफलतालाई सफलतामा बदल्ने प्रयत्न नगरेर यस्तो इतिहास बनिरहेको विश्लेषण गरेर अघि बढेका केही नेताहरु छन्। तीमध्ये एक गगन थापा हुन् जसले १३ औं महाधिवेशनमा कांग्रेसको परम्परागत विचार र नेतृत्व छनोटको प्रचलनमाथि धावा बोल्ने प्रयास गरे। उनी महामन्त्रीमा निर्वाचित त भएनन् तर उनको ‘अट्याम्प्ट’ अहिले देशभरकै युवा कांग्रेसका लागि प्रेरणा बनिरहेको वाग्लेको विश्लेषण छ। त्यसैले तलदेखि नै नयाँ पुस्ताका नेताहरु निर्वाचित हुने आशा उनमा देखिन्छ।
उमेरलाई नेतृत्वका लागि ‘योग्यता’ ठहर्याउन ‘दाइबाद’ विरुद्ध उक्त विद्रोहले यसपल्ट थापाका लागि मात्रै होइन, उनकै पुस्ताका विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायतका लागि सजिलो बनाइदिएको छ। कांग्रेस शिर्ष तहकै नेतृत्वले उनीहरुलाई भावी महामन्त्रीका रुपमा स्वीकार्न थालेका वाग्ले बताउँछन्। उनले भने, ‘युवापुस्तालाई सारथी बनाइएर सफल हुने अनुभूति शिर्ष तहमा छ। कांग्रेसका लागि यो सुखद् संयोग हो। विगतमा यति अनुभूति पनि नेतृत्वमा थिएन। युवा पुस्ताले सार्थक हस्तक्षेप गर्ने अवस्था थिएन।’
कांग्रेसमा तल्लो तहदेखि माथिल्लो तहसम्म त्यस्तो अनुभूति भएका कारणले गर्दा यसपल्टको महाधिवेशनमा युवा पुस्ताले सार्थक हस्तक्षेप गर्न सक्ने उनको विश्लेषण छ। ‘पार्टीलाई केही हदसम्म रुपान्तरण गर्न सक्ने आधार देखिएका छन्। तेस्रो पुस्ताका नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलको पुस्ता पदाधिकारीमा आउनुपर्छ भन्ने धारणाको विकास भएको छ,’ उनले भने।
यही दृष्टिबाट हेर्ने हो भने कांग्रेसमा ‘नयाँ फ्रन्ट’को उदय केही हदसम्म सकारात्मक देखिन्छ। तर, स्पष्ट चित्र निर्माण हुन अझै केही समय भने लाग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।