काठमाडौं– संयुक्त राष्ट्रसंघको आह्वानमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ। शान्ति सैनिक खटाएर योगदान पुर्याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा अहिले पाँच हजार १५४ जना नेपाली शान्ति सैनिक परिचालित छन्।
विश्वका १२२ राष्ट्रले राष्ट्रसंघको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन्। अफ्रिका महादेशका द्वन्द्वरत मुलुक सुडान र कङ्गोलगायत देशमा अहिले शान्ति सैनिकका रूपमा कार्यरत नेपाली महिला सैनिकको संख्या १७६ रहेको छ।
नेपालले सन् १९५८ देखि सैनिक पठाउन सुरु गरेको हो। विश्वशान्ति स्थापना कार्यमा सैनिक पठाएर योगदान पुर्याएवापत ६३ वर्षको अवधिमा नेपाली सेनाले एक लाख ३५ हजार ३४३ थान शान्ति (युएन) पदक प्राप्त गरिसकेको छ। नेपाली सेनासँग संसारका ४२ वटा शान्ति मिसनमा खटिई काम गरेको अनुभव छ ।
हालसम्म शान्तिसेनामा गएका ६८ नेपाली सैनिकले ज्यान गुमाएका छन् भने ६६ जना सैनिक गम्भीर घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।