दमक– झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिने भएको छ। कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८\७९ को बजेटमा स्थानीयको बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन्।
झापा गाउँपालिकाले २० युनिटभन्दा कम विद्युत् खपत गर्ने पालिकाभित्रका सबै नागरिकको शुल्क तिरिदिने अध्यक्ष जयनारायण साहले बताए।
उक्त विद्युत् शुल्क तिरिदिनका लागि पालिकाले गाउँसभाबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष साहले बताए।
गाउँपालिकाले गर्भवतीलाई झापा जिल्लाभरिका अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नेसमेत बजेटमार्फत घोषणा गरेको छ । यसका लागि पालिकाले ५ लाख रुपैयाँ विनियोजन गरेको छ।
यसैगरी कमल गाउँपालिकाले आगामी आर्थिक २०७८/७९ को बजेटबाट कृषकले सिँचाइमा खपत गरेको बिजुलीको बिल तिरिदिने भएको हो। फागुन, चैत, वैशाख र जेठ महिनामा खेती गर्दा सिँचाइमा लागेको चार महिनाको बिजुलीको बिलको ५० प्रतिशत रकम गाउँपालिकाले तिरिदिने गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन्।
आकाशे खेतीमा निर्भर किसान र व्यावसायिक खेतीमा लागेका आधुनिक कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले किसानको बिजुलीको बिल तिरिदिने गरी बजेट व्यवस्था गरिएको अध्यक्ष काफ्लेको भनाइ छ।
झापा गाउँपालिकाले दीर्घरोगीमध्ये उच्च रक्तचाप र मधुमेहका बिरामीलाई निःशुल्क औषधिसमेत उपलब्ध गराउने भएको छ। सो औषधि खरिदका लागि पालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।