प्रतीकात्मक तस्वीर
मार्तडी– असारको सुरुदेखि आएको अविरल वर्षाका कारण बाजुराको जनजीवन प्रभावित बनेको छ। वर्षासँगै खोलामा आएको बाढी र पहिरोले गर्दा दर्जनौं बस्ती जोखिममा रहेका छन्।
जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीका ९४ परिवार पहिरोले विस्थापित भएका छन्। गाउँभन्दा तलपट्टिको सडक भासिएर पहिरो बग्न थालेपछि गाउँ नै विस्थापित भएको गाउँपालिकाका प्रधानमन्त्री रोजगार संयोजक बिर्खबहादुर पाण्डेले बताए। गाउँभन्दा तलपट्टिको खोलामा गत वर्ष पनि पहिरो गएको र अहिले पनि गाउँ नजिकै रुगिन हुँदै विच्छ्या जोड्ने सडक निर्माण भएपछि सडक भासिएर पहिरो गएकाले बस्ती नै विस्थापित भएको उनको भनाइ छ।
सडकका कारण गाउँ नै भासिन थालेपछि स्थानीयवासी त्रिपालको सहारामा बस्दै आएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए।
पहिरोले विस्थापित भएका गाउँलेहरु एउटै त्रिपालमा चार परिवारले रात बिताउने छन्। विस्थापित भएको खबर आएपनि अविरल वर्षाका कारण क्युडी जान नसकिएको र केही दिनपछि गएर स्थलगत अनुगमन गर्दा बस्ती नै सार्नुपर्ने अवस्था भएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए।
बस्ती नै विस्थापित भएपछि गाउँपालिकाले राहत र उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमा आग्रह गर्ने समेत अध्यक्ष मल्लले बताए।
प्रहरी, गाउँपालिका कर्मचारी र वडाध्यक्षको संयुक्त अनुगमनबाट पहिरोले विस्थापित भएका क्युडी बस्तीका परिवारका बारेमा मुचुल्का तयार पारेर पालिकामा बुझाएका छन्।
पहिरोले क्युडीका घरहरु चर्किएको र घरभित्र पानी पसेर कतिपय घरको खाद्यान्नलगायतका सामग्री ओसार्न नसक्दा आफन्तले दिएको खानेकुरा खाएर बस्न बाध्य भएको गाउँपालिका प्रधानमन्त्री रोजगार संयोजक पाण्डेको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।