टीकापुर– कर्णाली नदी कटानले कैलाली–बर्दिया जोडने हुलाकी राजमार्गमा रहेको सत्ती पुल अवरुद्ध भएपछि हजारौं नागरिकको सम्पर्क टुटेको छ।
दैनिक हजारौँ नागरिक आवतजावत गर्ने सत्ती पुलको स्ल्याब कटान भएपछि आवतजावत बन्द भएको छ। कर्णाली नदीमा पानीको बहाव बढेपछि पुलको स्ल्याब कटान हुँदा सुदूरपश्चिम र लुम्बीनी प्रदेश जोड्ने यो बाटो बन्द भएको छ। सत्ती पुल भएर दैनिक हजारौँ नागरिक र सयौँ सवारीसाधन आवतजावत गर्ने गर्दथे।
शनिबार दिउँसो कर्णाली नदीको पूर्वी भागमा पुलको स्ल्याब कटान गरेपछि हुलाकी राजमार्ग पूर्णतया अवरुद्ध भएको हो। कर्णाली नदीको बहाव पूर्वपट्टि हान्दै गएकाले पहिलेदेखि नै त्यहाँ पुलको स्पान थप्नुपर्ने स्थानीयवासीको माग थियो। तर, समयमै काम नहुँदा नदी कटानले बाटो अवरुद्ध भएको हो।
नदीले पुलको स्ल्याब कटान भएपछि कैलाली र बर्दिया नियमित चल्ने बस तथा सवारी साधन वारि र पारि रोकिएका छन्। राजापुरका स्थानीयवासी विक्रम कायस्थ खेतीपातीको समयमा वारिपारि गर्ने नागरिकलाई अझ बढी समस्या भएको बताए।
बर्दियाको राजापुरका अधिकांंश नागरिक उपचार र किनमेल जस्ता कार्य गर्न टीकापुर आउने गर्दछन्। पुल भत्किँदा यी सबैलाई समस्या भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।