काठमाडौं- मनसुनी वायु सक्रिय रहेकाले मुलुकका विभिन्न क्षेत्रमा आज बिहानैदेखि पानी परिरहेको छ। मुख्यगरी प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी परिरहेको र थोरै ठाउँमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसपालि खुल्दै, पुनः पानी पर्दै गर्ने तर देशैभरि ढाक्ने गरी वर्षा भने नहुने मौसमविद् प्रतिभा मानन्धरले बताइन्। 'ती प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेकाले दुई दिन सावधानी अपनाउनुपर्ने र त्यसपछि कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सक्रिय हुने देखिन्छ,' उनले बताइन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाका कारण जमिन गलिसकेको र विगतमा बाढीपहिरो गएको तथा भूकम्पले क्षति पुर्याएको क्षेत्रमा सानो पानीले पनि असर गर्नसक्ने हुँदा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
पानी रोकिँदै र पर्दै गर्ने भएकाले ठूलो समस्या ननिम्तिए पनि केही ठाउँमा पर्ने भारी वर्षाले असर गर्नसक्ने हुँदा सावधानी अपनाउनुपर्नेछ। अहिलेको समयमा असारे काम गर्न भने निकै सहयोग पुग्ने जनाइएको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशको दक्षिणी भू-भागनजिक मनसुनी न्यून चापीय रेखा रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।