हेटौंडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले यही असार १३ गतेदेखि सेवाप्रवाह पुनः सुरु गर्ने जनाएको छ। कार्यालयले कोरोना कहरका कारण करिब दुई महिनादेखि अवरुद्ध रहेका विभिन्न सेवा पुनः सञ्चालन गर्न लागेको हो।
नयाँ नागरिकता, प्रतिलिपि र राहदानी बनाउन आउने सेवाग्राहीका लागि पालिकाअनुसार दिन निश्चित तय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। दश स्थानीय तह रहेको जिल्लामा नागरिकता तथा राहदानी बनाउन आउने सेवाग्राहीलाई निश्चित गरिएको हो।
थाहानगर, कैलाश, राक्सिराङ र इन्द्रसरोबर गाउँपालिकाका सेवाग्राहीलाई नागरिकता तथा राहदानीसम्बन्धी कार्यका लागि मंगलबार र बुधबार आउन भनिएको छ।
त्यसैगरी मनहरी, बागमती, बकैया मकवानपुरगढी र भीमफेदी गाउँपालिका सेवाग्राहीले बिहीबार र शुक्रबार नागरिकता, प्रतिलिपि र राहदानी बनाउन पाउनेछन्। हेटौंडा उपमहानगरका सेवाग्राहीलाई आइतबार र सोमबार नागरिकता तथा राहदानीसम्बन्धी सेवा प्रदान गरिनेछ।
कोरोनाको संक्रमणबाट बच्न र कार्यालयमा भिडभाड कम गर्न बारअनुसार सेवा प्रवाह तोकिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए। सेवाग्राहीलाई सेवा लिन कार्यालय आउँदा अनिवार्य मास्क लगाई स्वास्थ्य मापदण्ड पालन गर्नसमेत भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।