काठमाडौं- मानसिक समस्याका बारेमा सिरिज बनाउने छलफल चलिरहेको थियो। कोभिडका कारण ठूला पर्दा पूर्णरूपमा बन्द भएसँगै फिल्म लम्ब्ल्याएर सिरिज बनाउने र त्यसलाई ओटीटीबाट प्रसारण गर्ने उक्त टोलीले निष्कर्ष निकाल्यो।
कलाकार, लगानी सबैको हिसाबकिताबसहित त्यो टोली ओटीटी सञ्चालककहाँ गयो। सञ्चालकले राम्रोसँग उनीहरूको कुरा सुने र आफू सामेल हुन तयार भएको बताए। जाँदाजाँदै उनले एक सर्त राखे। सर्त थियो, धेरै पारिश्रमिक लिएकाले नायिका परिवर्तन गरेर सोही पारिश्रमिकमा चलेको नायक राख्ने।
नाम उल्लेख नगर्ने सर्तमा नेपाली फिल्मकी चलेकी नायिकाले सुनाएको घटना हो यो। उनी त्यही पारिश्रमिक धेरै लिएकाले चलेको नायकले विस्थापित भएकी नायिका हुन्।
उनले भनिन्, ‘हामी कलाकारमा उस्तै काम गरे पनि महिला र पुरुषलाई दिने पारिश्रमिक विभेद पहिलेदेखि नै थियो, तर अहिले ओटीटीका साहुलेसमेत, त्यतिमा त फलानो नायक नै आउँछ, नायिकालाई किन त्यति धेरै पारिश्रमिक दिनपर्यो भनेछन्।’
यसले राम्रो काम गर्ने कलाकारलाई हतोत्साहित गर्ने ती नायिकाको भनाइ छ।
०००
केही समयअघि नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा वक्ताका रूपमा उपस्थित भएका थिए, नेट टीभीका अध्यक्ष मनोज अग्रवाल। आफूहरूले नेपाली फिल्म क्षेत्रलाई अगाडि बढाउन ठूलो भूमिका खेल्नसक्ने दाबी उनले गरे। उक्त कार्यक्रममा वक्ताकै रूपमा उपस्थित निर्माता अर्जुन कुमारले आफूले ‘चपली हाइट ३’ ओटीटीबाट रिलिज गर्न चाहेको बताए। ‘सेयरिङ बेस’मा भए आफूले फिल्म लिने अग्रवालले बताए। अर्जुन कुमारले ‘मार्जिन बेस’मा दिन्छु भन्दा त्यसरी हुँदैन, कलाकार को छ, के छ सबै हेरेर हिसाब गर्नुपर्छ भने।
अर्जुन कुमारका अनुसार कार्यक्रममा छलफल गरौंला भने पनि अहिलेसम्म सम्पर्क भने भएको छैन।
यी प्रतिनिधि घटना मात्रै हुन्। यस्तो खेल मनोरञ्जन क्षेत्रमा पहिलेदेखि चलिआएको बताउँछिन् निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा।
उनले भनिन्, ‘नेपालमा चर्चित अनुहार राखे फिल्म सुपरडुपर हिट हुन्छ भन्ने भ्रम पालेका धेरै छन्। यो डिजिटल समयमा मात्रै हैन, हल भएदेखि नै चलेका कुरा हुन्।’
राणाले कुरा एकै तर समय परिवर्तन भएसँगै माध्यम फरक भएको बताइन्। पहिले हलवालाले चर्चित अनुहार भएका कलाकार खोज्थ्यो भने अहिले डिजिटल अधिकार लिनेहरूले खोज्छन्।
उनले भनिन्, ‘पहिले पनि निर्माता/निर्देशक नै यो कुराको दबाबमा थिए, अहिले पनि उनीहरू नै छन्। पहिले हलमा फिल्म वितरण गर्नेको हातमा यो पावर थियो, अहिले डिजिटल अधिकार लिनेहरूको हातमा छ।’
यद्यपि, पहिलेको तुलनामा यो प्रवृत्ति कम हुँदै गएको उनले बताइन्। ‘आशा गरौं विस्तारै प्रतिभा भएका र कथा सुहाउँदो कलाकार यस्तो बार्गेनिङको चपेटामा नपर्लान्,’ उनको भनाइ थियो।
अध्यक्ष राणाको कुरामा साथ दिन्छन् थ्री सिक्स्टी वान डिग्री मिडिया प्रालिबाट सञ्चालनमा आएको सिनेमाघर एपका कार्यकारी अधिकृत सागर खरेल। उनले भने, ‘हाम्रो नेपाली फिल्म क्षेत्र छिमेकी देश भारतबाट निकै प्रभावित छ। त्यता ठूलो फेस भएका मानिसहरूको फिल्म बकबास भए पनि लगानी उठाउँछ। नेपालमा पनि त्यस्तै होला भन्ने सोचाइ फिल्म बनाउनेहरूको छ।’
उनले यो प्रथा ओटीटी र डिजिटल प्लाटफर्मकै कारण भएको भन्दा पनि पहिले चलिआएको कुरा यता पनि लागू भएको बताए। ‘ओटीटी र डिजिटलको कारण मात्रै हैन, पहिले पनि त पोस्टरमा देखिएको टाउकोले दर्शक हलमा यति आउँछन् भन्ने अनुमान गरिन्थ्यो,’ खरेलले जोड दिँदै भने, ‘चर्चित अनुहार ओटीटी सञ्चालकले पनि खोज्न सक्छन् तर हामी भने त्यस्तो कुरामा विश्वास गर्दैनौं।’
उनले थपे, ‘हामी सो कल्ड स्टार भन्नेहरूको पछि लागेर फिल्म लिने नलिने भन्ने निर्धारण गर्दैनौं। फिल्मले उठाएको कथा र त्यसलाई मिल्ने चरित्र भएका कलाकार मात्रै हाम्रो फिल्म या सिरिजको प्राथमिकतामा पर्छन्।’
दर्शकलाई गतिलो कन्टेन्ट दिनकै लागि आफूहरूसँग लेखक तथा कलाकार खगेन्द्र लामिछाने जोडिएको उनले बताए। ‘कलाकारले नै गतिलो कला र त्यसमा काम गर्ने मान्छेलाई न्याय दिनसक्छ, कला नै नबुझेकाले हेर्ने भनेको चर्चा र स्टारडम नै हो,’ खरेलले भने।
उनले बजेटको अभाव भएकाले आफैं काम गर्न नसकेको बताए। खरेल भन्छन्, ‘हामी आफैंले पनि वेब सिरिज बनाउने योजना बनाएका थियौं तर महामारीका कारण बजेट जुटाउन सकिरहेका छैनौं।’
उनले आफूहरूले वेब सिरिज बनाउँदा कुनै पनि कलाकारलाई विभेद नगर्ने बताए। ‘हामी कथाले मागेअनुसारको पात्रलाई नै सिरिजमा प्राथमिकता दिनेछौं,’ उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।