खलंगा– जुम्लाको जैविक (अग्र्यानिक) पहिचान बोकेको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिएको छ।
मार्सी चामल, सिमीको दाल र कोदो गरी अठार टन खाद्यान्न क्यानडा निर्यात गरिएको हो। कर्णाली सेफ एन्ड सुपरफुड इन्डस्ट्रिजका कार्यकारी प्रमुख राज शाहीले १४ टन मार्सी चामल, चार टन सिमीको दाल र एक टन कोदो निर्यात गरिएको बताए।
क्यानडास्थित लायम फुड कर्पोरेशन ओन्टारियो टोरान्टो कम्पनीले जुम्ली उत्पादन लिएको हो।
मार्सी चामल, कोदो र सिमीको कार्टुनमा नेपाली झण्डा अङ्कित लोगो राखिएको छ। लेबलिङ र प्याकेजिङ तथा प्रोसेसिङको काम सबै नेपाली माटो नामक संस्थाले गरेको हो।
जुम्लाको सिञ्जा क्षेत्रबाट १३ र तातोपानी गाउँपालिका–४ गिडीखोलाबाट एक टन मार्सी काठमाडौँ पुगाइएको थियो। पहिलोपटक जुम्ली उत्पादन क्यानडा निर्यात भएपछि स्थानीयवासी निकै खुशी छन्।
स्थानीयवासी जीवनबहादुर खत्रीका अनुसार स्थानीय उत्पादन क्यानडा निर्यात भएपछि किसानमा हौसला थपिएको बताए। अहिले किसानले खेतीयोग्य जमीनको उपयोग गर्न थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।