भक्तपुर– कोरोना महामारीका कारण भएको निषेधाज्ञाले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट भएको छ। खेतमा लगाएको काउली, बन्दा, फर्सीलगायत तरकारी बिक्री नभएपछि खेतमै कुहिएर खेर गएको छ।
पाँच रोपनी जग्गामा लगाएको काउली र बन्दा खेतमै कुहाउनुपरेको चाँगुनारायण नगरपालिका–९ ताथलीका रोशन गिरीले बताए। गत वर्ष पनि यही पीडा भोगेको उनले यस वर्ष पनि गाईलाई खुवाएर बाँकी भएको तरकारी खेतमै कुहाएर मल बनाउनुपरेको बताए।
गाउँका किसानले निषेधाज्ञाका कारण भक्तपुर बजारसम्म बिक्रीका लागि तरकारी ल्याउन सकेनन् भने पहिला तरकारी लिँदै आएका व्यापारीले समेत तरकारी बिक्री हुँदैन नल्याउनु भनेपछि खेतमै कुहाउनुपरेको हो।
स्थानीयवासी समिता गिरीको गुनासो पनि उस्तै छ । जग्गा भाडामा लिएर तीन रोपनीमा लगाएको तरकारी फलेपछि बिक्री गर्न नपाएको उनले बताइन्। केही तरकारी बिक्री गर्न थालेको बेलामा निषेधाज्ञा हुँदा तरकारी बिक्री नहुँदा जग्गाको भाडा तिर्ने पैसा पनि नउठेको उनको भनाइ छ।
स्थानीयवासीको घरघरमा काउली, बन्दा, फर्सी, बोडी फलाउने भएकाले गाउँमा पनि बिक्री नहुने र कतिपय सित्तैमा बाँडेको उनले बताइन्।
सूर्यविनायक नगरपालिका–१० चित्तपोलका राजुराम कार्कीको गुनासो पनि उस्तै छ । गत वर्षको लकडाउनमा तीन लाख रुपैयाँ नोक्सानी बेहोरेका उनले यो वर्ष चार लाखभन्दा बढी नोक्सानी भएको बताए। तरकारी बिक्री नहुँदा खेतमै कुहिएको गुनासो गर्दै उनले कोरोनाले गर्दा किसान मारमा परेको बताए।
भक्तपुर नगरपालिका, सूर्यविनायकको सिपाडोल, नंखेल, चित्तपोल, चाँगुनारायणको ताथली, सुडाल, वागेश्वरीलगायत क्षेत्रमा फलाइएको तरकारीले बजार नपाउँदा किसान मारमा परेका हुन्।
नगरपालिकाले नोक्सानमा परेका किसानको पहिचान गरी बीउ र मलमा मात्रै राहतको व्यवस्था गर्न सके पनि किसानलाई सहज हुने उनीहरुको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।