धरान– कोरोना भाइरस (कोभिड– १९) महामारीको दोस्रो लहर शुरु भएयता एक महिनाको अवधिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २० कोरोना सङ्क्रमितको शल्यक्रिया भएको छ।
ती शल्यक्रियाहरु जटिल किसिमका रहेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा चूडामणि पोखरेलका अनुसार कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर शुरु भएयता गत वैशाख २७ गतेदेखि प्रतिष्ठानको कोभिड अस्पतालमा शल्यक्रिया शुरु गरिएको थियो। जेठ अन्तिमसम्म २० वटा शल्यक्रिया भएको छ।
प्रतिष्ठानका न्यूरो सर्जन डा।आलोक दाहाललगायतको टोलीले तीन वटा न्यूरोसम्बन्धी जटिल शल्यक्रिया गरेको छ। टोलीले अचेत अवस्थामा आएका, आँखा खोल्न नसकेका, टाउकोमा रगत जमेका र हातखुट्टा नचलेका बिरामीहरुको सफल शल्यक्रिया गरेको उनले जानकारी दिए। उनका अनुसार जनरल सर्जरीबाट प्रा डा राकेश गुप्ता, डा सुरेशप्रसाद साह, डा निर्मल साह, डा रुपेश प्रसाद साह, डा भवानी खनाल, डा विजय श्रेष्ठलगायत चिकित्सक टोलीले सात वटा जटिल किसिमका शल्यक्रिया गरेका छन्। तीमध्ये चार वटा सानो आन्द्राको, दुईवटा एपेन्डिक्सको र एक वटा ठूलो आन्द्राको शल्यक्रिया भएको सहप्रवक्ता डा पोखरेलले जानकारी दिए।
यसैगरी प्रतिष्ठानका कार्डियो भास्कुलर सर्जन डा लोकेश शेखर जैसवाल तथा जेनेरल सर्जन डा सुरेश प्रसाद साहको टोलीले १२ इन्च लामो रडले करङको हाडलाई छेडेर फोक्सो र मुटुमा चोट पुर्याएका सङ्क्रमित बिरामीको पनि जटिल शल्यक्रिया गरेको थियो। त्यसैगरी प्रतिष्ठानको नाक, कान, घाँटी विभागका डा शंकरप्रसाद साह र डा ऋषिराज साहको टोलीले एक जना सङ्क्रमित बिरामीको घाँटीमा अड्किएको हड्डी सफलतापूर्वक निकालेको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका अनुसार गाइनो विभागका चिकित्सकहरुले सङ्क्रमित बिरामीहरुको आठ वटा शल्यक्रियामार्फत डेलिभरी गरिएको थियो भने ९ वटा नर्मल डेलिभरी गरिएको थियो। तीमध्ये पाँच वटा डा दिप्ती दास, दुई वटा डा मदन खड्का र एक वटा डा मनोज साहले गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।