दिपायल– रोपाइँ सुरु भए पनि रासायनिक मल अभावमा डोटीका किसान समस्यामा पर्दै आएका छन्। कहिल्यै समयमा मल नपाउने भन्दै यहाँका किसान आक्रोशित बनेका छन्।
किसानले महिनौँदेखि खेतबारीमा प्रयोग गर्ने रसायनिक मल पाउन सकेका छैनन्। रोपाइँ गर्ने बेलामा समेत जिल्लामा युरिया मल नपाएपछि किसान चिन्तित बनेका हुन्।
कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण मल ल्याउन नसक्दा समस्या भएको कृषि सामग्री कम्पनी दिपायल शाखाले जनाएको छ। प्रदेश कृषि निर्देशनालयका अनुसार जिल्लामा कम्तीमा पनि १० हजार ८९८ हेक्टर खेतमा धान रोपाइँ हुँदै आएको छ।
रोपाइँ गर्ने बेलामा समेत युरिया मल नपाएपछि धानखेती खासै नसप्रिने भन्दै किसान चिन्तित बन्ने गरेको शिखर सिलगढी नगरपालिका–१ का चेतबहादुर बोगटीले बताए। यस वर्ष समयमै वर्षात् भएकाले यहाँका विभिन्न ठाउँमा धान रोपाइँ सुरु भएको छ। मल अभावका कारण धानबाली खासै नसप्रिने भन्दै किसान चिन्तित बनेका सिलगढी नगरपालिका–४ गैराका किसान टीकाबहादुर विकले बताए।
जिल्लामा मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनी लिमिटेडले समयमै मल खरिद गरी नल्याउँदा अहिले मल अभावको समस्या उत्पन्न भएको किसानको आरोप छ ।
नेपाल कृषि सामग्री कम्पनी लिमिटेड दिपायलले कैलालीमा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनीमा समेत मल नभएका कारण आपूर्ति गर्न नसकिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।