रसुवा– वर्षासँगै पहिरो जानेक्रम सुरू भइसकेकाले कुनै स्थानको यात्रा गर्नुपर्दा पूर्वसावधानी अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीयवासीलाई आग्रह गरेको छ।
निरन्तर वर्षा हुँदा राजमार्ग अवरुद्ध हुन थालेको तथा साना ठाडो खोल्साबाट पानी झर्न थालेपछि त्रिशूली नदीमा पानीको सतह बढ्न थालेको छ। त्यसैगरी, ठाउँठाउँमा ससाना पहिरोसमेत जान थालेका कारण सुरक्षित स्थानमा बसोबास गर्न र खोला आसपासको क्षेत्रमा नजान समितिले स्थानीयवासीलाई आग्रह गरेको हो।
पैदल मार्गका भिरालो ठाउँमा ढुङ्गासमेत झर्न थालेकाले अत्यावश्यक कामवाहेक पैदल यात्रा नगर्न र यात्रा गर्नुपरेमा साथीका साथमा होसियारपूर्वक यात्रा गर्नसमेत अनुरोध गरिएको छ। प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद ढकालका अनुसार भारी वर्षाले राम्चे–स्याफ्रु खण्डको मूलखर्क, धुञ्चे त्रिशूली खोला, सानुभार्खु, याङयाङका साथै स्याफ्रु–टिमुरे खण्डको मेदाङफुलुङसमेतका स्थानमा पहिरोका कारण अवरूद्व राजमार्ग तत्काल खुलाइएको छ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसमेतका सुरक्षा निकायको जनशक्ति एवं निर्माणाधीन रसुवागढी तथा लाङ्टाङ एण्ड भोटेकोशी हाइड्रोपावरको डोजर सहयोगले राजमार्गको अवरोध हटाइएको छ।
स्याफ्रुबेँसीको भोटेकोशी पुलजनिक याङयाङ क्षेत्रको राजमार्ग विस्तार भइरहेकाले चीनबाट आयात भएका मालसामग्री बोक्ने मालवाहक कन्टेनरको आवागमन सहज पार्न स्थानीय प्रशासनले सडक विस्तार आयोजनालाई आग्रह गरिसकेको छ।
यस्तै वर्षायामको समयमा पासाङल्हामु राजमार्ग निर्वाध सञ्चालन गराउन कम्तीमा तीन वटा डोजर तैनाथका लागि स्थानीय प्रशासनको तर्फबाट डिभिजन सडक कार्यालय नुवाकोटलाई अनुरोध गरिसकिएको प्रजिअ ढकालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।