प्रतिकात्मक तस्वीर
लमजुङ– आइतबारदेखिको अविरल वर्षासँगै दोर्दी खोलामा आएको बाढीले लमजुङमा २ घर बगाएको छ। मंगलबार साँझ दोर्दी गाउँपालिका –८ हिलेबजारस्थित चतुरे विक र कन्या तामाङको घर बाढीले बगाएको हो।
खोलामा पानीको बहाव बढिरहेको र नजीकै भएकाले ती घर बगेका हुन्। घर बगाएपछि बेँसीशहर नगरपालिका वडा नम्बर ११ चिती प्रहरीचौकीका ५ प्रहरी त्यसतर्फ जाँदै गरेपनि बाटो अप्ठ्यारो र पानी निरन्तर परिरहेकाले पुग्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज रेग्मीले बताए।
यस्तै, दोर्दी खोलाले दोर्दी– ६ कृतिपुरका कृष्ण घलेको कृषि फार्मसमेत बगाएको जानकारी प्राप्त भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ। जिल्लामा विभिन्न स्थानमा खोला नजीकै र जमीन कच्चा भएको स्थानका दर्जनौं घर जोखिममा रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले समेत मंगलबार सूचना जारी गर्दै मर्स्याङ्दी र दोर्दी गाउँपालिका तथा बेँसीशहर, सुन्दरबजार र राइनास नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा पानीको बहाव बढिरहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनका साथै आसपास शाखा नदी कमजोर भिरालो जमीन क्षेत्रका बासिन्दालाई सुरक्षितसँग बस्नलाई आग्रह गरेको छ।
यतिबेला जिल्लाका मर्स्याङ्दी नदी तथा दोर्दी, किसेदी, रिस्ती, मिदिम खोलालगायत दर्जनौँ खोलामा समेत पानीको बहाव वृद्धि भइरहेको छ। वर्षा हुने क्रम जारी रहेकाले स्थानीयवासी त्रसित छन्। कतिपय घरका बासिन्दा भने सुरक्षित स्थानमा बसेका छन्। मंगलबार मात्र जिल्लामा विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।