डोटी– दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ। दुर्घनामा परी एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सु प्र प००१००१च २६१५ नंको महेन्द्रा बोलोरो जीप बिहान दुर्घटना भएको हो।
दुर्घटनामा परी कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ५० वर्षीय जीपचालक हुकुम शाहको मृत्यु भएको छ भने बाजुराको बूढीगङ्गा नगरपालिका–८ बस्ने २६ वर्षीया देवीकुमारी शाह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन्। जीप अनियन्त्रित भई सडकबाट कम्तीमा सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।