फाइल तस्वीर
तनहुँ– त्रिशूली नदीमा माछा मार्न गएका तनहुँका एक युवा ४ दिनदेखि बेपत्ता भएका छन्। आँबुखैरेनी गाउँपालिका–४ स्थित पूर्व बेसी निवासी २३ वर्षीय चिरन गुरुङ ४ दिनदेखि सम्पर्कविहीन भएका हुन्।
गुरुङको परिवारलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय आबुखैरेनीले दिएको जानकारी अनुसार जेठ २३ गते राति ८ बजे उनी त्रिशुलीमा माछा मार्न भनी हिँडेका थिए।
राति अबेरसम्म पनि घर नफर्किएपछि भोलिपल्टै देखि आफन्तले खोजी सुरु गरेका थिए। प्रहरीसमेत लागेर खोजी गर्दा पनि बिहीबारसम्म फेला पार्न नसकेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए।
खोजी गर्ने क्रममा त्रिशुली नदीको किनारमा उनले लगाएर गएको चप्पल, कपडा, माछा मारेर राख्ने भाँडोलगायत सामग्री भेटिएको थापाले बताए। नदी किनारमा उनले प्रयोग गरेका सामग्री भेटिएपछि उनलाई नदीले बगाएको आशंका गरिएको छ।
उनका सामग्री भेटिएको ठाउँबाट तलसम्म नदी आसपासमा खोजी गर्दा पनि केही पत्ता नलागेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।